पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सरकार आशा र भरोसा लाग्दो शिक्षा बनाउने गृहकार्यमा लागि परेको बताएकी छन् । शिक्षा क्षेत्रमा देखिएका केही विकृती र विसङतीका कारण ब्याप्त निरासा अन्त्य गर्दै थप प्रभावकारी शिक्षाका लागि निरन्तर प्रयत्नशील रहेको उल्लेख गरिन् । मन्त्री भट्टराईले नयाँ शिक्षा ऎनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमार्फत सबै खाले बेतिथीको अन्त्य हुने दाबी गरिन् ।
शिक्षा क्षेत्रमा गर्नुपर्ने धेरै कामका बीचमा नेपालको शिक्षाप्रति विश्वास जगाउनेतर्फ लागि पर्नुपर्ने भन्दै गुणस्तरीय शिक्षाको सुरूवात गुणस्तरीय शिक्षकबाट सुरु हुने कारण शिक्षकहरूको क्षमता वृद्धिका काममा विशेष ध्यान दिनु जरुरी भएको बताइन् ।
मन्त्री भट्टराईले सो कुरा पोखरा महानगरपालिका वडा नं. १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हिरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै बताएकी हुन् । विद्यालय शिक्षा समग्र शिक्षाको जग र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको हुँदा समृद्ध, जीवनोपयोगी शिक्षाका निम्ति सबै क्षेत्र, वर्ग र समुदायको सहयोग र समन्वय जरुरी भएको उनको भनाइ थियो।
व्यवसायिक शिक्षामार्फत नै गुणस्तरीय जीवनयापनको महत्त्वपूर्ण आधार खडा हुने सर्वस्विकार्य विषयलाई प्राथमिकताका साथ अगाडि बढाउने भन्दै बर्षौदेखि ब्याप्त कमी कमजोरीहरूको पहिचान र निराकरणका लागि विशिष्ट प्रारम्भिक योजनाका साथ मन्त्रालय अगाडि बढेको उनले जनाउ दिइन् ।






















