काठमाडौं । सामान्यतया किशोरावस्थामा पुगेपछि महिलामा मासिक धर्म शुरु हुन्छ । महिलामा शारीरिक परिवर्तन र विकासको प्राकृतिक प्रक्रिया हो मासिक धर्म अर्थात् महिनावारी । मासिक धर्म हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ । तर, सबै महिलामा पेट दुखाइ सामान्य खालको हुँदैन । त्यतिबेला हुने पीडा सहन नसकेर कतिपय महिला अस्पताल नै भर्ना हुन आउँछन् । कुनै पनि महिला मासिक धर्म भएकै कारण उसको दैनिकीमा प्रभाव पर्छ भने त्यो दुखाइलाई सामान्य मान्न नसकिने चिकित्सकको भनाइ छ । मासिक धर्मका बेला हुने असह्य पीडाबाट बच्न धेरै जसो युवतीले मेफिनेमिक एसिड, बुफ्रिन, निम्स, सिटामोललगायत औषधि खाने गरेको फार्मेसी सञ्चालकहरु बताउँछन् । तर यस्ता पेनकिलर प्रयोग गर्दा भावी दिनमा स्वास्थ्यमा समस्या आउने भएकाले हत्तपत्त कडा खाले औषधि नखान चिकित्सकले सुझाव दिएका छन् ।
स्त्रीरोग विशेषज्ञ डा. स्वस्ती शर्माका अनुसार दुखाइ कम गर्ने औषधि मात्र नभएर मासिक धर्म रोक्ने र पर सार्ने औषधि पनि युवतीका साथै विवाहिता महिलाले समेत धेरै सेवन गर्दछन् । खासगरी पूजापाठ, बिहेबटुलो, व्रतबन्ध, तीर्थाटन जस्ता शुभ कार्य परेमा औषधि खाएर आफ्नो मासिक धर्म पर सार्ने धेरै महिलाको बानी हुन्छ । तर, यस्ता औषधि पेनकिलरभन्दा अझ बढी हानिकारक हुने हुँदा सेवन नगर्न उनको सुझाव छ ।
मासिक धर्मका बेला सामान्यतया तीनदेखि सात दिनसम्म रक्तश्राव हुनुलाई चिकित्सकहरुले सामान्य प्रक्रिया मानेका छन् । उनीहरुका अनुसार मासिक धर्मका बेला हुने पेट दुखाइ पनि सामान्य प्राकृतिक प्रक्रिया नै हो । यस्तो बेला हुने दुखाइ रोक्न जथाभावी औषधि सेवन गर्नुको साटो चारदेखि छ घण्टामा प्याड फेर्ने, नियमित नुहाउने, फलफुलको जुस, गेडागुडीको सुप र पानी प्रशस्त खाने काम गर्न चिकित्सकले सुझाएका छन् ।






















