काठमाडौं। सामाजिक सुरक्षा कोषले सुरक्षा योजनाहरुको दायरमा आवद्ध गर्ने गरी योजनाहरुको विस्तार गरेको छ । सेवा प्रणालीलाई योगदानकर्ता मैत्री हुने गरी अनलाईन प्रणालीको अधिकतम उपयोग गर्ने रणनीति अनुसार कोष अगाडि बढेको बताइएको छ।
यसैक्रममा कोषमा हालसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार ३ सय र वैदेशिक क्षेत्रका १२ लाख ५० हजार ८ सय गरी करिब १७ लाख ९४ हजार श्रमिकहरू आवद्ध भइ सकेका छन् । यता अनौपचारिक क्षेत्रको कार्यविधि कार्यान्वयका लागि १०७ वटा पालिकाले सम्झौता गरिसकेको कोषले जनाएको छ । करिव ४ वटा स्थानीय तहले सहयोगदान आफ्ना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गरिसकेका र चालु आवमा थप करिव २० वटा भन्दा बढी स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सहयोगदान मार्फत कोषमा आवद्ध गर्न वजेट विनियोजन गरेको जानकारी प्राप्त भएको कोषले जनाएको छ । यसरी हेर्दा ६ वर्षको अबधिमा कोषमा योगदानकर्ताको योगदान बापत ६८ अर्ब ६४ करोड रुपैयाँ जम्मा भइसकेको कोषले जानकारी दिएको छ ।
कोषले सञ्चालन गरेको औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ३ लाख ७४ हजार दाबी वापत १ अर्व ४८ करोड १ लाख ९८ हजार रुपैयाँ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ७ हजार १ सय १७ ओटा दाबी वापत १५ करोड २० लाख ६५ हजार, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत ५८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख ९८ हजार र वृद्धावस्था सुरक्षा योजना अन्तर्गत ५८ अर्व ८५ करोड योगदान जम्मा भई करिव ९ अर्व ८० करोड ६३ लाख ७५ हजार रकम ९२ हजार योगदानकर्ता र निजको परिवारलाई भुक्तानी गरिसकेको पनि जानकारी दिएको छ।
कोषले सञ्चालन गर्ने स्वास्थ्य उपचार तथा मातृत्व सुरक्षा योजना र दुर्घटना योजना अन्तर्गतका सुविधाहरु थप योगदानकर्ता मैत्री हुने गरी योगदानकर्ताले कोषको अनलाईन प्रणालीसँग आवद्ध स्वास्थ्य संस्थामार्फत सोझै नगद रहित रुपमा नै प्राप्त गर्ने व्यवस्था गरिएको जनाएको छ। हाल कोषको सुविधा प्रदान गर्ने अस्पतालको संख्या ९० रहेकोमा यो संख्या क्रमशः बढाउदै लैजाने कोषको नीति रहेको उल्लेख गरिएको छ ।






















