काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरिरहेको बताएका छन् । आज मन्त्रालयमा राष्ट्रिय किसान संजालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन ब्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने उल्लेख गरे ।
विगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गरे । यो समयमा डिडिसीले दूध खरिदमा विगत देखि नै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको छ । ‘सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दूधमा पनि आत्मनिर्भरको बिषय उठाउँदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन,’ मन्त्री अधिकारीले भने ।
केही सन्चार माध्यममा किसानको दूध सरकारी संस्थानले नकिनेको विषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि बताए ।
ज्ञापन पत्र बुझाउँदै संजालले दूध, उखु, सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।





















