काठमाडौं । विभिन्न २ आयोजनाबाट उत्पादन थालेरै व्यवसायिकरुपमा थप १ सय ५३ दशमलव ५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । ४२ दशमलव ५ मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भइ बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् ।
४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडेर परीक्षणका रुपमा विद्युत् उत्पादन सुरु गरेको छ । यता १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत् उत्पादन गरिरहेको छ।
परीक्षण उत्पादन सफल भएर तोकिएको मापदण्ड पूरा भएपछि साञ्जेन र रसुवागढीको बिजुली व्यवसायिक रुपमा उत्पादन सुरु हुनेछ। दुवै आयोजनाबाट मंसिर महिनाभित्रमा व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।
यी आयोजनाबाट उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०–१३२–३३ केभी सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।






















