काठमाडौं । अनलाइन तथ्याँक व्यवस्थापन प्रणालीमा समस्या देखिएपछि विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । प्रणालीमै समस्या भएपछि राहदानी विभाग, राहदानी सेवा सञ्चालन हुने जिल्ला प्रशासन, इलाका प्रशासन, विदेशस्थित कूटनीतिक नियोगसमेतको सेवा ठप्प रहेकाले सेवाग्राही मर्कामा परेका हुन् ।
समस्या निम्तिएपछि नयाँ राहदानी बनाउने, पुरानो राहदानी नवीकरण गर्नेलगायत राहदानीसम्बन्धी सबै काम अवरुद्ध हुन पुगेको बताइएको छ ।
सोहीकारण कतिपय नागरिकको विदेश यात्रासमेत प्रभावित हुन पुग्ने देखिएको छ । विभागले समस्या समाधानका लागि प्राविधिक टोलीहरुले निरन्तर काम गरिरहेको र छिट्टै सेवा पुनः सुचारु हुने विज्ञप्तिमार्फत जनाएको छ ।























