काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा १८ संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रम गरेर सम्पन्न गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशैभर विभिन्न संस्थासँग मिलेर १८ वटा सामाजिक उत्तदायित्वको कार्यक्रम गरेको हो। बैंकले सामाजिक उत्तदायित्व अन्तर्गत देशका विभिन्न ७ स्थानमा रक्तदान कार्यक्रम गरेको जनाएको छ । जसमा बैंकको प्रधान कार्यालय, लाजिम्पाट, बैंकको क्षेत्रीय कार्यालय नारायणगढ, क्षेत्रीय कार्यालय पोखरा, शाखा कार्यालय बुटवल, क्षेत्रीय कार्यालय कोहलपुर, शाखा कार्यालय, इटहरी, शाखा कार्यालय, वीरगंज रहेका छन् । त्यसैगरी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेको छ भने कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरेको छ। त्यस्तै कान्ती बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी प्रदान गरेको छ भने बेनी अस्पताल म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान गरेको छ। त्यस्तै ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण गरेको छ भने जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक प्रदान गरेको छ। त्यस्तै रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान गरेको छ भने मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा विद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण गरेको छ। यसैगरी रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण गरेको छ भने बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरेको छ।



बैंकले शनिबार “स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ खुल्लातर्फ महिला र पुरुष १० किमि र कर्पोरेट तर्फ महिला र पुरुष ५ किमि दूरीको गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरेको छ।
जसमा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः ७५,०००, ६०,०००, ४५,०००, ३०,००० र १५,००० रुपैयाँ पुरस्कार प्रदान गरेको छ ।
वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद आचार्यले अब्बल र गुणस्तरीय सेवा प्रवाहमा प्रतिवद्ध रहेको बताएका छन् ।






















