काठमाडौं । नेपाली बजारमा डलरको मूल्यले हालसम्मकै नयाँ रेकर्ड बनाएको छ । आज एक अमेरिकी डलरको बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा पुगेको छ । यो हालसम्मकै महँगो मूल्य हो ।
यसको अर्थ १ अमेरिकी डलर प्राप्त गर्न १३५ रुपैयाँ ३७ पैसा नेपाली रुपैयाँ खर्च गर्नु पर्नेछ । यसरी हेर्दा अमेरिकी डलर किन्नका लागि हालसम्मकै बढी नेपाली रुपैयाँ तिर्नुपर्दछ । अथवा अर्काे भाषामा भन्नुपर्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्न पुगेको हो ।
अमेरिकामा डोनाल्ड ट्रप्मले दोस्रोपटक राष्ट्रपति चुनावमा जितेसँगै डलर मजबुत बनेर बढिरहेको छ ।
आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर भने १३४ रुपैयाँ ७७ पैसा तोकेको छ । यो भनेको राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आम्दानी बढ्ने हुन्छ । किनकि डलरमा पठाएको रेमिट्यान्सको नेपालमा धेरै पैसा आउँछ । पर्यटन आम्दानीमा वृद्धि हुनेछ । निर्यात गर्ने आम्दानीमा पनि लाभ लिन सकिनेछ । अर्काेतिर नेपाल आयातमा आधारित मुलुक भएकाले डलरको भाउ बढ्दा आयातित वस्तु तथा सामानको मूल्य भने बढ्न पुग्छ । आयात महँगो पर्न जाँदा विदेशी मुद्रा संचितिमा चाप पर्न सक्दछ ।
डलरको मूल्य बढेपछि नेपालले डलरमा तिर्नुपर्ने सावाँ ब्याज बढ्न पनि जाने हुँदा नेपाललाई थप आर्थिक भार पर्न सक्दछ ।






















