काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले ११ र १२ को विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना परीक्षार्थीलाई मौका परीक्षाको व्यवस्था गर्ने भएको छ । यो व्यवस्था अनुसार बोर्डबाट सम्बन्धन लिएर सञ्चालित शैक्षिक संस्थामा यसअघि अध्ययन गरेका तर परीक्षामा अनुत्तीर्ण वा अनुपस्थित भएका जतिसुकै पुराना विद्यार्थीले पनि मौका परीक्षामा बस्न पाउने भएका छन् ।
बोर्डका अनुसार पहिलो पटक २०५६ सालमा परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका यस्तो परीक्षामा सहभागी हुन पाउने छन् ।
यो २१ वर्षको अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थीको सङ्ख्या १४ लाख रहेको बोर्डको अनुमान छ ।
मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या हेरेपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने बोर्डको तयारी छ । १४ लाखले मौका परीक्षामा सहभागी हुन फाराम भरे भने चरणबद्ध रूपमा परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ ।
राष्ट्रिय परीक्षा बोर्ड (तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्) ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो ।






















