काठमाडौं । केही समय अगाडि काठमाडौं महानगरपालिकाले विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका बीचमा एक सर्वेक्षण गर्यो । विदेशमा छोराछोरी भएका ज्येष्ठ वयस्कहरुका बीचमा महानगरले गरेको सर्वेक्षणमा २१.७% व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइयो भने ६२.३% मा मध्यम खालको एक्लोपना देखियो । १५% हाराहारीमा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन ।
यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८% उच्च एक्लोपना, २८.३% मा मध्यम र २३.७% मा शून्य देखियो । ‘हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीकरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उहाँहरुले हीनता बोध गर्नुभएको हो । यसैकारण उहाँहरुमा एक्लोपना र निराशा देखिएको छ’, अध्ययनले देखाएको छ ।
महानगर अनुसन्धान शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप (एमआरएफ) को तेस्रो संस्करणमा ‘ज्येष्ठ नागरिकहरुको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा प्रल्हाद अधिकारीले गरेको अध्ययनले यस्तो अवस्था देखाएको हो । विनिता अधिकारी अध्ययनको सुपरीवेक्षक थिइन् ।
छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य (एक्लोपना र डिप्रेसन) को स्तर थाहा पाउन र अवस्था सुधार गर्न महानगरपालिकालाई सुझाव दिन अध्ययन गरिएको थियो । सर्वेक्षणमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका, सबै वडा समेटिने गरी ५०९ जना ज्येष्ठ नागरिकलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ६१ जनाले सोधिएका सबै प्रश्नहरुको जवाफ दिन चाहेनन् । यसकारण उनीहरुले दिएका जवाफहरुलाई तथ्याङ्क विश्लेषणमा राखिएन । उनीहरुमध्ये १३५ जनालाई उपनाम राखेर सहभागी गराइएको थियो । ५२ जनासँग कुराकानी गरिएको थियो ।
सहभागीको औसत उमेर ६९ वर्ष थियो । ३१९ जना विवाहित थिए । २ जना सम्बन्ध विच्छेद भएका र २ जना अविवाहित थिए । १२५ जना एकल ज्येष्ठ नागरिक थिए । उनीहरुमध्ये २३७ जना (५२.९%) ले आफू साक्षर भएको बताएका थिए । ६६ जना (१४.७%) ले एसएलसी सम्मको अध्ययन गरेको, ३७ जना (८.२%) ले हाइस्कूल डिग्री हासिल गरेको, ७२ जना (१६.१%) ले स्नातक वा उच्च शिक्षा हासिल गरेको र ३४ जना (७.६%) ले निरक्षर रहेको बताएका थिए । उनीहरुमध्ये ८९.३% मध्यम वर्ग, ४% गरिब र ६.७% धनी परिवारको थिए ।
अध्ययनमा २०४ जना महिला र २४४ पुरुष गरी ४४८ जना ज्येष्ठ नागरिकको जवाफलाई तथ्याङ्क मानेर १८ जना विषयविज्ञबाट विश्लेषण भएको हो ।
आधा भन्दा बढी ५९.८% ज्येष्ठ वयस्कहरूले पेन्सन वा ज्येष्ठ नागरिक भत्ता पाइरहेका छन् । ३५.७% ले आफ्नो केही पनि आय नभएको बताए । ६१ सहभागी १३.६ % ले आफूसँग पर्याप्त आम्दानी नभएको बताएका थिए । ७५% ले राम्रो आम्दानी र ११.४% पर्याप्त आम्दानी भएको जवाफ दिएका थिए ।
उनीहरुमध्ये ४४.०९% का एकजना बच्चा विदेश गएका थिए । ३५.३% का २ जना, ९६ जनाका ४ जना १.१% का ४ वा त्यसभन्दा धेरै छोराछोरी विदेश थिए । अधिकांशका छोराछोरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, दुबई र जापान जस्ता विकसित देशहरूमा थिए । उनीहरुसँग ३४.६% का छोराछोरीले दैनिक कुराकानी गर्ने गर्दछन् । ३०.८% ले हप्तामा दुई वा तीन पटक, १९.६% ले हप्तामा एक पटक र ३.८% ले महिनामा एक पटक कुराकानी गर्ने गरेका छन् । १.६% ले कुराकानी नै गर्दैनन् ।
आधा भन्दा बढी ५१.६% ले विदेशी राष्ट्रहरू भ्रमण गरेका छन् । ५२.७% ले आफ्ना छोराछोरी फर्केर स्वदेश आउँछन् भन्ने कुरामा विश्वाश गरेका छैनन् । ९४ प्रतिशतले आफूलाई सहयोग गर्ने सहयोगी राखेका छैनन् । ३९.३ प्रतिशतलाई छिमेकीहरुले साप्ताहिक रुपमा भेट्ने गरेका छन् ।
सर्वेक्षणमा सहभागीमध्ये २५.५% ले आफू बलियो भएको र ७.९% ले कमजोर रहेको जवाफ दिए । ६% ले आफ्नो नजिक शंकास्पद व्यक्ति रहको महसुस गरे । ६.५% ले आफूलाई अपरिचित र शंकास्पद व्यक्तिले निगरानी गरिरहेको महसुस भएको सुनाएका थिए । २०.५% ले आफू विरामी भएकोले आफूलाई हेरचाह गर्न नजिकको मान्छे चाहिएको बताए ।
समाजमा रहेका ज्येष्ठ नागरिकमध्ये उनीहरु एउटा प्रकृतिको समस्यासँग सम्बन्धित छन् । समाजमा यस्ता धेरै प्रकृतिका समस्या छन् । ती हरेक प्रकृतिसँग जुध्ने ज्येष्ठ नागरिकका समस्या फरक खालका छन् ।
यस्तो अवस्थालाई विश्लेषण गर्दै अध्ययनले काठमाडौं महानगरपालिकालाई ज्येष्ठ नागरिकको पुनः परिभाषा गरेर पहिचान प्रदान गर्न सुझाव दिएको छ । उनीहरुलाई अधिक प्राथमिकता दिएर, छुट र सुविधा प्रदान गरेर सम्मान प्रकट गर्न, यसका लागि कानुनमा प्रतिवद्धता गरिएका व्यवस्था कार्यान्वयन गर्न अध्ययनले सुझाएको छ ।
मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरेर यस्ता स्थानमा ज्येष्ठ नागरिकहरुलाई घुम्ने, बस्ने वा सहभागी हुने व्यवस्था मिलाउन शिफारिस गरिएको छ । सहरको चौतर्फी विकास गर्ने, युवाहरुलाई रोजगारी प्रदान गरेर स्वदेशमा रहने वातावरण सिर्जना गर्ने, उनीहरुको हेरचाहको ख्याल गर्ने, मानसिक स्वास्थ्य बिग्रिन नदिन ज्येष्ठ नागरिकमैत्री सामान खरिद गर्ने स्थान बनाउने सुझावका बुँदामा समेटिएको छ । घर र समुदायमा आधारित हेरचाह प्रणालीले ज्येष्ठ नागरिकको मानसिक अवस्थामा विग्रिन दिँदैन, एक्लोपना घटाउन मद्दत पुग्छ, अध्ययनले देखाएको छ ।

स्थानीय विषयलाई परिवेश बुझेका अनुसन्धानकर्ताबाट सहभागितामुलक र सामुहिकता जस्ता अध्ययनका विधि अपनाएर विकास आवश्यकता पहिचान गरेर नीतिमा पृष्ठपोषण दिन सहरी योजना आयोगले महानगर अध्ययन शोधवृत्ति (मेट्रोपोलिटन रिसर्च फेलोसिप) कार्यक्रम सञ्चालन गरेको छ । प्रमाणका आधार तथ्य संकलन गरेर विकासलाई अनुसन्धानमा आधारित बनाउने कार्यक्रमले योगदान गर्ने अपेक्षा राखिएको छ । प्रचलित अभ्याससँग सम्बन्धित प्राज्ञिक विषयलाई स्थानीयकरण गर्न यसले मद्दत गर्नेछ । यसबाट नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाउन स्थानीय परिवेश बुझ्ने अनुसन्धानकर्तालाई व्यवहारिक अनुसन्धानका लागि प्रोत्साहित गर्ने गरिन्छ ।





















