भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । लामो समयको प्रतिक्षापछि थाइ एयर एसियाको बैंंकक–भैरहवा–बैंकक उडान सुरु भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाइ एयर एसियाको एअर बस ए तीन ३२० अवतरण गरेको छ । पहिलो उडानमा विमानका चालक दलका सातजना सदस्यहरु मात्र आएको प्राधिकरण भैरहवा कार्यालयका निमित्त महाप्रबन्धक दीपकबाबु बज्राचार्यले जानकारी दिए । उनले यो तालिका अनुसारकै उडान भएको जानकारी दिएका छन् ।

अब अर्को उडान कार्तिक २३ गते शुक्रबार हुने र त्यसपछि सोमबार र बिहीबार हप्ताको दुई उडान हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे जानकारी दिंदै भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको बताएका छन्। उनले थालेका कामहरूलाई क्रमैसँग सम्पन्न गर्नेतर्फ ध्यान दिइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।






















