Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आज तिहारको मुख्य दिन भाइटीका, साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको साइत उत्तम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाचौँ दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको साइत उत्तम रहेको समितिले जनाएको छ । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

Health Tips Ad Road Block