काठमाडौं । मलेसिया सरकारले आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक दुई सय रिङ्गेट बढाउने घोषणा गरेको छ । आगामी फेब्रुअरी १ तारिख २०२५ देखि लागु हुने गरी मलेसिया सरकारले पारिश्रमिक बढाउने घोषणा गरेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।
यसअनुसार मलेसियामा रहेका नेपाली श्रमिकहरुको पारिश्रमिक पनि बढ्नेछ । यसले नेपाल भित्रिने रेमिट्यान्स रकम पनि बढ्ने अनुमान गरिएको छ । हाल मलेसियामा कार्यरत आप्रवासी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक एक हजार पाँच सय रिङ्गेट रहेको छ । दूतावासका अनुसार मलेसियाले सन् २०२५ बाट लागु गर्ने गरी वृद्धि गरेको एक हजार सात सय रिङ्गेट आधारभूत तलब विदेशी श्रमिकका हकमा पनि लागु हुने बताइएको छ ।
मलेसिया सरकारले ज्यालामा भेदभाव गर्न नपाइने अभिसन्धि नं १०० लाई सन् १९९७ मा नै पारित गरिसकेको छ ।
दूतावासका अनुसार नीति क्षेत्रमा काम गर्नेका हकमा यो तत्काल लागु हुनेछ । यस्तै पाँच जनाभन्दा कम श्रमिक रहेका उद्योग तथा कम्पनीले वृद्धि भएको न्यूनतम पारिश्रमिक छ महिनापछि अर्थात् २०२५ अगस्टदेखि लागु गर्नुपर्ने जनाइएको छ ।





















