काठमाडौं । कुनैपनि देशको अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रका रुपमा विकास गर्न लघु, घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका रहने गरेको छ । यही भावनालाई उजागर गर्ने उदेश्यसहित काठमाडौंको राष्ट्रिय सभागृह परिसरमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ गरियो । मेलामा सहभागीहरुले यस्ता उद्योगहरुको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा नदिएको विषयमा भन्दै गुनासो गर्ने स्थिति बन्यो ।
‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजनामा मेला गरिएको थियो । दश दिनसम्म चलेको मेलाको अध्ययन, अवलोकनपछि घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउन राज्यले ध्यान दिनुपर्ने बताइन् । घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुको प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा वृद्धिमार्फत बेरोजगारीलाई कमी गर्न सकिने उनको दाबी रहेको छ ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यमी भन्ने यात्रामा लागेका उद्यमीहरुले कसरी गुणस्तरीय उत्पादन गर्ने, कसरी बजारीकरण गर्ने, कसरी ब्राण्डिङ गर्ने विषयमा अनुभव आदान प्रदान गर्नका लागि पनि प्लेटफर्मका रुपमा मेला आयोजना गरिएको थियो ।
यता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इँले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरुको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको दाबी गरे ।
काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिंदै उनले बाँकी १७ वटा वडामा पनि छिट्टै शुरु गरिन लागेको जानकारी गराएका छन् । उनले लघु, घरेलु तथा साना उद्योगीहरुको प्रवद्र्धनका लागि सरोकारवालासँग छलफल र सहकार्य गरी अगाडि बढ्ने समेत बताए ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बीसीले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन र विकासमा राज्यले नीतिगत रुपमा धेरै कुराको व्यवस्था गरेपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताएका छन् । देशको अर्थतन्त्रलाई आत्मनिभर अर्थतन्त्रमा रुपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने भएपनि यसका लागि धेरै काम हुन नसकेको धारणा राख्दै उनले भने, ‘नेपाली रैथाने उत्पादनलाई नेपालीहरुले प्रयोग गर्ने गरी आन्तरिक बजारमा जबसम्म स्थापित हुन सक्दैनन् तबसम्म हाम्रो अर्थतन्त्र पनि दिगो हुन सक्दैन ।’
मेला दश दिनको वस्तुको प्रदर्शनी मात्रै नभएर उद्यमी महिलाहरुको घैर्यता, मेहनतको पनि प्रदर्शन भएको भन्दै काठमाडौं महानगरपालिकाले लघु, घरेलु तथा साना उद्यमीहरुको आर्थिक र सामाजिक रुपान्तरण गर्ने परिकल्पनाका सम्वाहक र मेरुदण्ड नै यस्ता उद्यमी भएको बताएको छ ।
प्रदर्शनीमा स्थानीय खानाका परिकार, अल्लो, ढाका र गार्मेन्टका मौलिक उत्पादन, अचार, छोप, मह, कृष्टलका गहना, ओखलमा प्रत्यक्ष कुटेका च्युरालगायतमा अवलोकनकर्ताहरुको आकर्षण देखिएको छ ।
यस्तै प्रदर्शनीमा सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन, नेपाली जुत्ता उपभोक्ताहरुले मन पराएका थिए ।
प्रदर्शनीमा काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंको सहकार्य र सह–आयोजना रहेको थियो । प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयाको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका थिए ।
समापन समारोहमा घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रखुख ध्रुव काफ्ले, कानुन विभाग प्रमुख वसन्त आचार्य, लेखा विभाग प्रमुख डा. शिवराज अधिकारी, उद्यमशीलता विकास सहजकर्ता देवकी घिमिरेलगायत प्रदर्शनीमा सहभागी उद्यमीहरुले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएका थिए ।