काठमाडौं । वर्षायाम लाग्यो कि बाढीपहिरो र डुबानका घटनाबाट कसले आफ्नो ज्यान गुमाउनुपर्ने हो या कसले घर गोठ लगायत श्रीसम्पती गुमाउनुपर्ने हो त्यो थाहा हुन्न । नेपालमा हरेक वर्ष वर्षातको समयमा बाढी, पहिरो र डुबानबाट औसतमा दुई सय जनाको मृत्यु र हजारौं प्रभावित हुने गरेका छन् । अर्बाैँको धनमाल नोक्सान हुने गरेको छ । मौसमी प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार्य योजना बन्ने गरे पनि कार्यान्वयन फितलो हुँदा वर्षैपिच्छे मानवीय र भौतिक क्षति हुने क्रम रोकिएको छैन । अझै बढिरहेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या हुने गर्दछ । यस बर्ष पनि पनि बाढी पहिरो तथा विपद्बाट लाखौं नेपाली प्रभावित हुनसक्ने अनुमानकाबीच सुबिधासम्पन्न संघीय राजधानीमै दर्जनौंको ज्यान गयो । कतिपय स्थानमा गाउँ नै सखाप भएका छन् । मौसम पूर्वानुमान भएपनि क्षति कम गर्ने उपाय नअपनाउँदा दुई दिनको बाढी पहिरोमा परि देशभर साढे २ सयको हाराहारीमा नागरिकले अकालमा ज्यान गुमाउनुपर्यो । धनमाल, पशुचौपायाको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन । सडक बाटोहरु बिच्छेद भएका छन् । विगतमा हुँदै आएका घटना र चालु वर्षमा हुनसक्ने घटनाका बिषयमा अध्ययन, अनुसन्धान तथा रणनीति पनि बन्ने गर्दछन् । तर जब संकटको घडी आउँछ तबमात्र तात्ने प्रवृतिले यस्ता क्षति न्यूनिकरण, उद्धार राहत कार्यहरु कहिल्यै प्रभावकारी बनिरहेको पाइन्न ।
घटना घटेपछि राहत रकम सहयोग वर्षैपिच्छे संकलन हुने गर्दछ । वर्षैपिच्छे दोहोरिने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सरकारले ल्याएका प्रतिकार्य योजनाअनुसार रोकथाम र नियन्त्रण भने प्रभावकारी बनेका छैनन् । न जोखिमयुक्त स्थानबाट बस्ती स्थानान्तरणमै ध्यान पुगेको छ । जेठ देखि भदौसम्मका ३ महिनालाई मनसुन अवधिका रूपमा लिइन्छ । यो अवधिमा हुने प्रकोपबाट हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यो वर्ष असोजमा बाढी, पहिरो, डुबान, कटानलगायत बढी क्षति पुर्यायो । मौसमको प्रक्षेपण गरिए पनि त्यसअनुसार प्रतिकार्य योजना नबन्दा यो क्षति बेहोर्नुपरेको हो ।
खासगरी तराई, मधेसमा डुबान, कटान तथा पहाडमा बाढी र पहिरोका कारण धेरै क्षति पुगिरहेका छन् । तराईमा बाढी र डुबान रोकथाम तथा नियन्त्रण र पहाडमा पहिरो, नदी तथा खोलाको तटीय क्षेत्रको बस्ती व्यवस्थापन र विस्थापनमा वास्तविकरुमा सरकारको ध्यान पुगेकै छैन । नदीनालाको तटीय क्षेत्र अतिक्रमण गरी बसेका मानिस हटाउनसमेत सरकारले सकेको छैन ।
हरेक बर्ष बर्षायाम सुरु भएसँगै बाढी, पहिरो, डुवानका यस्ता घटना उस्तैगरी दोहोरिन्छन् । हरेक वर्ष दोहोरिने यस्ता घटना र त्यसले पुर्याउने क्षति धेरै ठूलो हुने गरेको छ । अब भने साँच्चै पाठ सिकेर हरेक वर्ष दोहोरिने यस्ता घटनाबाट हुने क्षति न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न सरकार गम्भीर भएर अग्रसर बन्नुपर्ने देखिन्छ ।