skip this News Page Tips Ad Road Block

भारतको १५ अर्ब रुपैयाँ अनुदानमा चितवनसम्म पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण गरिने

काठमाडौं । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनबीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि समझदारी भएको छ । भारत सरकारको करिव १५ अरव रुपैयाँ अनुदान सहयोगमा पाइपलाइन र भण्डारण क्षमता निर्माण गर्नेबारे सम्झौता भएको हो ।

बिहीबार नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका डाइरेक्टर सेन्थल कुमारका बीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका चेयरम्यान भि सतिस कुमारको समुपस्थितिमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि बी टू बी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर भएको छ ।

भारतको दिल्लीमा यो सम्झौता सम्पन्न भएको हो । नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका पदाधिकारीहरुको समुपस्थितीमा भएको बी टू बी फ्रेमवर्क एग्रिमेन्टमा भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण गर्ने समझदारी भएको छ ।

त्यस्तै नेपालको अमलेखगंजवाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण गर्ने समझदारी भएको नेपाल आयल निगमले जनाएको छ । ।

यता चितवनको लोथरमा ९१,९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण गर्ने समझदारी पनि भएको छ ।

Health Tips Ad Road Block