काठमाडौं। नेपाल र बंगलादेशबीच आज विद्युत् व्यापार सम्झौता हुने भएको छ। दुई देशबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको छैठौं बैठकले बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने गरी यसअघि भएको सम्झौताबारे टुंगो लगाएको हो।
आज नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम, भारतबीच सम्झौतामा आज हस्ताक्षर गर्ने कार्यक्रम छ ।
संयुक्त बैठकले दुई देशबीच विद्युत् व्यापारका लागि प्रस्तावित अन्तर्देशीय प्रसारण लाइनहरूको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति भएको छ।
यस्तै दुई देशका वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई प्रशासनिक प्रक्रिया पूरा गरी अन्तिम रूप दिने र हस्ताक्षर गर्ने पनि सचिव स्तरीय बैठकले निर्णय गरेको छ। नेपाल, बंगलादेश र भारतबीच विद्युत् व्यापार, अन्तर्देशीय प्रसारण लाइन निर्माणलगायतका विद्युत् क्षेत्रमा सहकार्यका लागि त्रिपक्षीय संयन्त्र बनाउन पहल गर्ने पनि निर्णय भएको छ।