काठमाडौं । अबको एक महिनाभित्रमा सिन्धुपाल्चोक र रसुवा जिल्लाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण सम्पन्न भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
सिन्धुपाल्चोकको मध्य भेटेकोशी आयोजनाबाट १०२ मेगावाट र रसुवाको रसुवागढी जलविद्युत आयोजनाबाट १११ मेगावाट, दुईवटा सान्जेन जलविद्युत् आयोजनाबाट १४.८ मेगावाट र ४२.५ मेगावाट गरी कुल २७०.३ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिनेछ ।
उर्जामन्त्री दीपक खड्काको सक्रियतामा यससम्बन्धी वातावरण सहज बनेको हो । प्रशारण लाइन निर्माणमा ढिलाई भएपछि उत्पादित बिजुलीसमेत राष्ट्रिय ग्रीडमा जोडिन नसक्दा राज्यलाई करोडौं नोक्सानी भएको विषयलाई मध्यनजर गर्दै उर्जामन्त्री खड्काले सक्रियता देखाएका हुन् ।
मन्त्री खड्काले विद्युत खेर जान नदिने हिसाबले र उत्पादन छिटो गराउने हिसाबले तदारुकता बढाएको उनको सचिवालयले जानकारी दिएको छ ।