काठमाडौं । नेपालीहरुको ठूला चाडपर्व दशैंतिहार नजिकिएसँगै खानेतेलको मूल्य वृद्धि भएको छ । पछिल्लो सातामा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपैयाँले बढेको हो ।
खुद्रासम्म पुग्दा यो मूल्य अझै बढ्दा उपभोक्ता मारमा परेका छन् । उद्योगीहरुले चाडपर्वको मौका छोपी मूल्यवृद्धि गरेको पाइएको छ । तर अनुगमन र नियमनकारी निकायले यसबारे केही गरेको पाइँदैन ।
खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको जनाएको छ ।
यता उद्योगीहरूले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गरिरहेका छन् ।
दशैं नजिकिएसँगै पछिल्लो एक/डेढ सातामा बिनाकारण खानेतेलको मूल्य प्रतिलिटरमा २० देखि ३० रुपैयाँसम्म बढेको र यसले उपभोक्ता मारमा परेकाले यसलाई तल्काल नियमन गर्नुपर्ने उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । दशैं, तिहार, छठ लगायतका पर्वहरुमा बढी कारोबार हुने मौका छोपी बजारमा कृत्रिम अभाव, कालाबजारी, अस्वभाविक मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने क्रियाकलाप हुने हुँदा अनुगमन र नियमनकारी निकाय बढी चनाखो बन्नुपर्ने र गलत गर्नेहरुलाई कडा कारबाही गर्नुपर्ने अधिकारकर्मी तिमल्सिना बताउँछन् ।