काठमाडौं । नेपालीहरुको महान पर्व दशैं, तिहार, छठ लगायतका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज ११ गतेदेखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गर्ने निर्णय लिने सहमति गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
महासचिव गौतमले भने, ‘अहिलेसम्मको सहमतिअनुसार ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने विषय अगाडि बढाइएको छ तर त्यो निर्णय भने भइसकेको छैन । सबै पूर्वाधार तयार गरिसक्दा ९, १०, ११ गते जुनसुकै मितिबाट पनि टिकट बुकिङ खुला गरिनेछ । त्यो अधिकार मन्त्रालयले विभागलाई दिएको छ । ८ गते मंगलबार बैठक बसेर त्यसमा निर्णय लिइनेछ ।’
उनले थपे, ‘सरकारसँग सहमति बनेको छ । बाटोघाटोको व्यवस्था, सर्वसाधारणलाई सुरक्षित यात्रा गराउने विषयमा असोज १० गतेसम्ममा सबै राष्ट्रिय राजमार्ग र सहायक राजमार्गहरू सवारी साधनको लागि गुड्न तयार गर्ने सहमति बनेको छ । यसमा मंगलबार नै विभागमा बैठक बसेर सहायता कक्ष निर्माण लगायत विषयमा पनि निर्णय लिइनेछ ।’
महाकालीबाट काठमाडौं आइपुग्दा ३३ स्थानमा चेकिङ
महासंघले देशभरिको चेकिङका कारण यात्रु र व्यवसायीलाई झन्झट हुनुका साथै समय यत्तिकै खेर जाने गरेको विषय पनि सरकारसँग जोडका साथ उठाएको छ । यसलाई व्यवस्थित गर्न एक स्थानबाट चेकिङ स्लिप लिएर गएकाहरूलाई अन्त चेकिङ नगर्ने लगायत सात बुँदामा छलफल भएको उनले जानकारी दिए ।
उनले भने, ‘महाकालीबाट काठमाडौँ आइपुग्दा ३३ स्थानमा स्थानमा चेकिङ हुने गरेको छ । चेकिङले गर्दा १० घण्टा लाग्ने गाडीलाई १८ घण्टासम्म लाग्ने गरेको छ । एकातिर बाटो कमजोर छ, त्यसमाथि चेकिङले गर्दा समस्या छ । यो सबै व्यवस्थित गर्न सरकारसँग कुरा राखिएको छ ।’
सुरक्षा र चेकिङका विषयमा महासंघले गृहमन्त्री रमेश लेखकसँग पनि छलफल गरेको छ ।
महासंघका अनुसार सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिनेछ । यस्तै चाडपर्व लगत्तै वैज्ञानिक भाडा समायोजन गर्ने निर्णयसमेत हुने महासंघले जनाएको छ ।






















