skip this News Page Tips Ad Road Block

पेट्रोलमा इथानोल मिश्रण किन र कति आवश्यक भनेर प्रश्नै प्रश्न ?

काठमाडौं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रणको बहस चलिरहेको इथानोल मिश्रण किन र कति आवश्यक भनेर प्रश्न उठेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा राजधानीमा पेट्रोलमा इथानोल मिश्रणको सम्भावना र प्रभावकारीताबारेको छलफलमा पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाएका हुन् । ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रुपमा पेट्रोलियम पदार्थको आयात झन्झन् घट्दो क्रममा रहेकोमा इथानोल मिश्रण किन र कति आवश्यक हो ? भन्दै उनले प्रश्न गरे ।

‘केही समय अघिसम्म नेपालले दैनिक ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको आवश्यक किन पर्यो ?’ उनले प्रश्न गरे ।

तथापि, आफूहरु पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले जस्तो भन्यो त्यस्तै पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) बताउँदै उनले बरु ढुवानी भाडा चाहीँ राम्रो दिन आग्रह गरे ।

नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समय सम्मपनि कार्यान्वयन नहुने समस्या रहेको बताउँदै अध्यक्ष प्रधानले २०६० सालमा नै योजना बनेको इथानोल मिश्रणको नीति हालसम्म कार्यान्वयन हुन नसकेकोमा दुःख व्यक्त गरे ।

‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो ?’ उनले संशय व्यक्त गरे ।

यस्तै उपभोक्ताकर्मी माधव तिमलसिनाले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्न सकिने भएपनि यो उपभोक्ता र वातावरणमैत्री हुनुपर्ने धारणा राखे । पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्दैगर्दा यसको सहुलियत उपभोक्ताले मूल्यमा पाउनुपर्ने बताए ।

हाइड्रोजन उर्जाको तयारी भइरहेकामा इथानोटको अर्थ छैन : सिवाकोटी

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम् नाडाको वातावरण विभागका सभापति कपिल सिवाकोटीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रण गर्ने नीतिको कुनै तुक नभएको तर्क गरे । ढिलो चाँडो नेपाल पनि हाइड्रोजन उर्जामा कन्भर्ट हुने हुँदा अहिलेको ईभी र आईसीई (पेट्रोलियम इन्जिनयुक्त सवारी) मा इथानोलको प्रयोग आवश्यकता नै नपर्ने तर्क गरे ।

तर, यता नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले सरकार इथानोल उत्पादन र प्रयोगमा निकै अघि बढिसकेकाले कार्यान्वयन गरि छाड्ने उद्घोष गरे ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणका लागि २०६० सालमा नै योजना बनेपनि विविध कारणले बिलम्ब हुन गएको थियो । तर, पछिल्लो समय सरकारले यो कार्यान्वयनमा लैजाने पहल गरिसकेको छ । इथानोल उत्पादन र प्रयोगको सन्दर्भमा प्रस्तावसँगै कार्यविधि बनाउन पर्ने रहेकोमा उद्योग विभागले सो सम्बन्धी कार्यविधिका लागि स्वीकृति समेत दिइसकेको छ’ उनले भने ।

‘अब केहीँ समयमा नै इथानोल उत्पादनमा जान्छ । यो कुनै रकेट साइन्स होइन । इथानोलको प्रयोगले दैनिक ४ लाख किलोलिटर इन्धनको खपत घटाउन सहयोग पुग्छ’ उनले भने ।

इथानोल उत्पादनमा धेरै उद्योगहरु तयार रहेकोमा २५ देखि ३० लाख रुपैयाँ लगानीमा नै इथानोल उत्पादनको प्लान्ट निर्माण गर्न सकिने उनले बताए । तर, वार्षिक उत्पादन परिमाण, खपत र मूल्यमा भने ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

एकमहिना भित्र इथानोलको मूल्य तोक्छौं : मन्त्री भण्डारी

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा सरकार धेरै अघि बढिसकेको बताउँदै मूल्य निर्धारणको काम मात्र बाँकी रहेको बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौं’ मन्त्री भण्डारीले भने ।
इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशनसमेत गरिसकेको उनले बताए ।

कार्यक्रममा निगमकातर्फबाट केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्न सकिने दृष्टान्त आफ्नो कार्यपत्रमार्फत प्रस्तुत गरेकी थिइन् ।

२०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेकाले यो सम्भव भएको समेत बताइन् ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रणसम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्याउछ’ उनले भनिन्, ‘यसो भए देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउन मद्दत पुग्छ ।ʼ

कार्यपत्र प्रस्तुत गर्दै महर्जनले छिमेकी मुलुक भारत र चीनले समेत पेट्रोलियम पदार्थमा १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनले बताइन् ।

इथानोल मिश्रणको सन्दर्भमा अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, इन्डियामा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको अवस्थामा नेपालले पनि यसमा जान सक्ने उनले बताइन् । भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको समेत उनले बताइन् । यस्तै नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति लिनुपर्ने उनले बताइन् ।

Health Tips Ad Road Block