काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाका कार्यहरु अगाडि बढाउन भएको सम्झौताको एक वर्षमा विद्युत् प्रसारण लाइन र सडक मर्मत सम्भारमा प्रगति भएको छ । २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने गरी एमसीसी अगाडि बढेको र पहिलो वर्ष विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मत सम्भारका काममा उल्लेख्य प्रगति भएको मिलेनियम च्यालेञ्ज एकाउन्ट, नेपाल विकास समिति (एमसिए–नेपाल) ले जनाएको छ ।
यो बीचमा १२ करोड ६० लाख अमेरिकी डलर लागतका तीनवटा ४०० केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता भएको र १८ किलोमिटर लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको एमसिए नेपालले जनाएको छ ।
‘विगत एक वर्षमा कम्प्याक्टले ३ वटा ४०० केभी सबस्टेशनहरूको निर्माणका लागि १२६ मिलियन डलरको निर्माण ठेक्का सम्झौता गर्ने र रातमाटे सबस्टेशनमा २७० व्यक्तिहरूलाई लाभान्वित गर्ने दुई वर्षीय जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमहरू सञ्चालन गर्ने लगायत महत्वपूर्ण उपलब्धीहरू हासिल गरेको छ।’ एमसीए नेपालले भनेको छ ।
‘आज एमसीए नेपालले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ, जुन नयाँ बुटवलदेखि नेपाल–भारत सिमाना सम्मको १८ किमी क्रस–बोर्डर ट्रान्समिसन लाइनको निर्माणका लागि ट्रान्सरेल लाईटिंग लिमिटेड सँग १२.३६ मिलियन डलरको ठेक्का हस्ताक्षर गरेको छ। यो महत्वपूर्ण लिंकले नेपालको ऊर्जा पूर्वाधारलाई उल्लेखनीय रूपमा सुदृढ पार्नेछ र सीमापार ऊर्जा सहकार्यलाई अझ गहिरो बनाउनेछ। यसका साथै एमसीए नेपालले बिजुली नियामक आयोगलाई एम्बेडेड परामर्श सहयोग प्रदान गर्न १.२ मिलियन डलरको सम्झौता र परियोजना प्रभावित वडाहरूमा बिजुलीको प्रयोग बढाउन एमसिए पार्टनरशिप कार्यक्रम अन्तर्गत २.४ मिलियन डलरको सम्झौताहरूमा हस्ताक्षर गरेको छ। यी उपलब्धिहरूले पहिलो वर्षमा भएको प्रगतिलाई मात्र होइन, एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयन दोस्रो वर्षमा प्रवेश गर्दा नेपाललाई ऊर्जा निर्यात, रोजगारी सिर्जना र पूर्वाधार विकासमा क्षेत्रीय नेतृत्वकर्ता बन्नका लागि मजबुत आधार प्रदान गर्नेछ।’ सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिएको छ ।