काठमाडौं । प्रधानमन्त्री केपी शर्माले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने ओलीले स्पष्ट गरेका छन् ।
छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताएका हुन् ।
‘नेपालले सन्तुुलत, इमानदारिता र पक्षधरताबिहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुुभलो चिताउँदैनौँ । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छौं । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्वशान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभिमानाका धक्का लगाउने काम गर्नु हुँदैन ।’
प्रधानमन्त्री ओलीले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी हुनु युुगान्तकारी काम भएको पनि स्मरण गरे ।