skip this News Page Tips Ad Road Block

दिगो विकास लक्ष्य हासिल गर्न वार्षिक २५ खर्ब रुपैयाँ आवश्यक

काठमाडौं । नेपालले दिगो विकास लक्ष्य हासिल गर्न अहिले वार्षिक करिब २५ खर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, संयुक्त राष्ट्र संघ र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्तरुपमा आयोजना गरेको विकासका लागि वित्त सम्वादमा नेपाल स्तरोन्नतिको संघारमा रहकाले थप लगानी आवश्यक रहेको आवश्यकता औंल्याइएको हो ।

सरकार, निजी क्षेत्र र विकास साझेदारहरुले मुलुकको विकासका लागि आवश्यक स्रोत जुटाउन थप सक्रियता आवश्यक रहेको सरोकारपक्षको भनाइ छ ।

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा राजश्वमा भएको संकुचनले विकासका लागि रकम अभाव हुने देखिएको त्यस अवसरमा औंल्याइयो ।

कार्यक्रमका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासोन्मुख मुलुकहरुमा राजश्वको ठूलो अंश ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको र विकासका लागि लगानी अभाव हुने गरेको सन्दर्भ प्रस्तुत गरे । उनले नेपाल पनि ती अन्य मुलुकभन्दा फरक नभएको हुँदा स्रोत जुटाउन सरकार, निजी क्षेत्र र विकास साझेदारसँग सहकार्यका लागि आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा विकासका लागि वित्तीय स्रोतको पहिचानसहित आगामी यात्रा तय गर्न सरकार र संयुक्त राष्ट्र संघसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको बताए ।

प्रत्यक्ष वैदेशिक लगानी घट्दै गएको, राजश्वमा कमी आइरहेको, वैदेशिक अनुदान घट्दै गइरहेको सन्दर्भमा विकासका लागि लगानी जुटाउन सबै तहबाट प्रयास गर्नुपर्ने उनले बताए । महासंघले स्वदेश र विदेशमा लगानी प्रवद्र्धनका विशेष कार्यक्रम आयोजना गरिरहेको बताउँँदै विदेशी लगानीलाई सहजीकरणका लागि सहायता कक्ष समेत स्थापना गरिएको बताए ।

संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगरले नेपालको विकास आवश्यकता पुरा गर्न वार्षिक २३ अर्ब डलर आवश्यक रहेको हुँदा लगानी जुटाउन विशेष पहल आवश्यक रहने बताए । अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने संघारमा रहेको नेपालका लागि सबै तिरबाट स्रोत जुटाउन आवश्यक रहेको उनले बताए ।

वित्तीय समावेशिता र लैगिक समानताका लागि आर्थिक क्षेत्रमा महिलाको सहभागिता ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउनु आवश्यक रहेको उनको भनाइ थियो ।

Health Tips Ad Road Block