skip this News Page Tips Ad Road Block

मन्त्रालयबाट अर्बौं अनुदान लगेर काम नगर्नेलाई सार्वजनिक गर्ने कृषिमन्त्री अधिकारीको चेतावनी

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयबाट अर्बौं रुपैयाँ अनुदान लगेर काम नगर्नेहरुको विवरण छिट्टै सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयको कार्यभार सम्हालेको ३५ दिनमा के गर्न सकिन्छ भनेर छलफलमा जुटेका कृषिमन्त्री अधिकारीले काठमाडौंमा पत्रकारहरुसँग सुझाव लिँदै मन्त्रालयले केही वर्षका बीचमा अर्बौं रुपैयाँ दिएको अनुदानबारे लगत संकलन भइरहेको र केही दिनमै सार्वजनिक गर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै अधिकारीले भने, ‘कृषि मन्त्रालयले यो दुई–पाँच वर्षका बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । मैले त्यो अनुदान रकम कसले कति लिएको छ ? २०/२५/३० लाखको सरोकार होइन । ठूला अनुदान लिने तर जरो किलो केही पनि छैन । किन दिइयो ? त्यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिँदैन भने कसले दिँदैन म कहाँ ल्याउ भनेर त्यो काम गरेको छु । त्यसकारणले ढुक्क हुनुस्, केही दिनमा यो पनि सार्वजनिक हुनेछ । मबाट कसैले पनि आशा नगर्नु कि म केही दिन सक्दिन ।’

मन्त्री अधिकारीले आर्थिक क्षेत्रको सुधारका लागि नयाँ कृषि नीति ल्याउन लागेको जानकारी दिएका छन् ।

उनले नीति निर्माण र कृषि क्षेत्रका संकट मोचन सँगसँगै अगाडि बढाउने बताए । कृषि मन्त्रालयबाट सबै किसानको हित गर्न लाग्ने तर कलंकको टिका लगाएर नबाहिरिने संकल्प कृषि मन्त्री अधिकारीको छ । उनले कृषि उपज बिक्री नभए राज्यले किनिदिने वातावरण बनाउनतर्फ लाग्ने पनि बताए ।

त्यसैगरी किसानलाई ऋण दिन आनाकानी गर्ने बैंकहरुलाई ठिक पार्ने योजना पनि मन्त्री अधिकारीले सुनाएका छन् । ऋणको सहजीकरणको लागि आफूले बैंकहरुमार्फत पहल गरिरहेको उनले बताए ।

आफू जिम्मेवारीबाट कहिल्यै नभाग्ने भन्दै मन्त्री अधिकारीले कृषि मन्त्रालय र साना किसान एवं जनताबीचको खाडल पुर्न संधै लागिपर्ने बताए ।

Health Tips Ad Road Block