काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरुले दैनिक ५ वटादेखि १५ वटासम्म औषधि सेवन गरिरहेका पाइएको छ । महानगरपालिकाले २०८२ माघ १८ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुको प्रारम्भिक स्वास्थ्य परीक्षणसहित ‘स्वास्थ्य सर्वेक्षणका क्रममा यस्तो अवस्था देखिएको हो । त्यस क्रममा सबै वडाका गरेर २ हजार ८४७ जना ज्येष्ठ नागरिक समेटिएका छन् ।
अध्ययनमा समेटिएका मध्ये महिलाको संख्या १ हजार ७९४ जना (६३ प्रतिशत) र पुरुषको संख्या १ हजार ९५३ जना (३७ प्रतिशत) रहेको कार्यक्रमका फोकल पर्सन कल्पना श्रेष्ठले जानकारी दिइन् । यो तथ्याङ्कले काठमाडौँमा ज्येष्ठ नागरिकको जनसंख्यामा महिलाको हिस्सा ठूलो रहेको देखिन्छ । यस्तै पुरुषका दाँजोमा महिलाहरुको स्वास्थ्य समस्या फरक रहेको देखाउँछ ।
महिलाहरुमा बाथ र पुरुषहरुमा प्रोस्टेडको समस्या धेरै
सर्वेक्षणले ज्येष्ठ नागरिकहरूमा नसर्ने दीर्घरोगको चाप धेरै देखिएको छ । २ हजार ८४७ मध्ये ८० प्रतिशत अर्थात २ हजार २८२ जनामा उच्च रक्तचापको समस्या देखिएको छ । यसमा महिलाको संख्या १ हजार ४७१ जना र पुरुषको संख्या ८११ जना छ । केही व्यक्तिमा २१०–११० सम्म पुगेको भेटिएको छ । यो अवस्थाले पक्षघातको उच्च जोखिम सिर्जना गर्ने, फोकल पर्सन श्रेष्ठले जानकारी दिइन् ।
मधुमेहको अवस्था हेर्दा करीब ४० प्रतिशत महिला अर्थात ७१७ जना र ४२ प्रतिशत पुरुष अर्थात् ४४२ जना यसबाट प्रभावित भएको देखिन्छ । कतिपय बिरामीको रगतमा चिनीको मात्रा ४९० सम्म पुगेको भेटियो । धेरैजसो बिरामीहरू इन्सुलिनको सहारामा जीवन बचाइ रहेका छन् ।
सबैभन्दा ठूलो लैङ्गिक अन्तर बाथ रोगमा देखिएको छ । कुल १ हजार ७९४ महिलामध्ये ५५ प्रतिशत अर्थात ८८७ जना बाथ र हाडजोर्नीको समस्याले ग्रस्त छन् । जबकि पुरुषमा यो दर २२ प्रतिशत मात्र छ । यसले गर्दा महिलाहरूको गतिशीलता कमजोर भएको छ । उनीहरु ओछ्यानमै सीमित हुने वा सहारा बिना हिँड्न नसक्ने अवस्थामा पुगेका छन् । अर्कोतर्फ, ४५ प्रतिशत पुरुष अर्थात् ४७३ जनामा प्रोस्टेटको समस्या देखिएको छ । जसले उनीहरुको दैनिक गुणस्तरीय जीवनमा ह्रास आएको छ ।
७५ प्रतिशतलाई घरमै हेरचाह सेवा आवश्यक
स्वास्थ्य अवस्था र आवश्यक पर्ने स्याहारका आधारमा सर्वेक्षणले नागरिकहरूलाई तीन प्रमुख श्रेणीमा विभाजन गरेको छ ।
चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्ने ज्येष्ठ नागरिकलाई यल्लो जोनमा राखिएको छ । यो जोनमा २ हजार १३५ जना ज्येष्ठ नागरिक छन् । उनीहरु परिवारसँगै त छन् तर, दैनिक रूपमा औषधिको मात्रा मिलाउने, घरमै फिजियोथेरापी गराउने र स्वास्थ्य निगरानी गर्ने दक्ष हेरचाहकर्मीको आवश्यक छ ।
उपचारका लागि तत्काल अस्पताल पठाउनु पर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रेड जोनमा राखिएको छ । करिब २८५ जना अर्थात १० प्रतिशत ज्येष्ठ नागरिक यस वर्गमा छन् । उनीहरुलाई सर्वेक्षणकै क्रममा पनि आकस्मिक उपचारका लागि लगिएको थियो । यसरी उपचार प्रदान गरिएकाहरुमा पक्षघात भएर ओछ्यान परेका, क्याथेटर लगाएका वा नियमित अक्सिजन सपोर्टमा रहेका ज्येष्ठ नागरिक छन् । उनीहरुलाई घरमा राखेर मात्र उपचार सम्भव हुँदैन । विशेषज्ञ डाक्टरको नियमित रेफरल र अस्पतालको पहुँच आवश्यक पर्छ ।
नियमित स्याहार र हेरचाह आवश्यक पर्ने तर स्वास्थ्य जोखिममा नरहेका ज्येष्ठ नागरिकलाई ग्रीन जोनमा राखिएको छ । यस वर्गमा ४२७ जना अर्थात् १५ प्रतिशत नागरिक छन् । उनीहरुको स्वास्थ्य अवस्था स्थिर छ । उनीहरुले नियमित परीक्षण मात्र गराए पुग्छ
सेवा व्यवस्थापनमा बहु–औषधि सेवन र साक्षरता चुनौती
अध्ययनले देखाएको अर्को संवेदनशील पक्ष भनेको नागरिकहरूले सेवन गर्ने औषधिको मात्रा र संख्या हो । तथ्याङ्क अनुसार एकैजना ज्येष्ठ नागरिकले दैनिक औसतमा ५ देखि १५ प्रकारका औषधि सेवन गरिरहेका छन् । सर्वेक्षणमा एक ९० वर्षीय बिरामीले एलोप्याथी र आयुर्वेदिक गरी दैनिक अधिकतम २१ प्रकारका औषधि प्रयोग गरिरहेको पाइएको छ ।
यति धेरै औषधिको प्रयोग गर्ने विरामीलाई औषधि कसरी प्रयोग गर्ने ? कति गर्ने ? कुन समयमा गर्ने जस्ता सूचना थाहा नपाउँदा थप स्वास्थ्य जटिलता थपेको छ । यी सूचना थाहा नहुनुमा उनको साक्षरताको अवस्थाले गर्दा हो । सर्वेक्षणमा सहभागी महिलाहरूमध्ये ४० प्रतिशत निरक्षर छन् । छोराबुहारी वा छोरी काममा जाँदा वा घरमा नहुँदा उनीहरुलाई कुन औषधि कति बेला र कुन मात्रामा खाने भन्ने छुट्टाउन निकै कठिन भइरहेको छ । जसले मात्रा तलमाथि भएर औषधिको विषाक्तताको जोखिम बढाएको छ ।
एक्लोपना र स्याहारको अभाव
तथ्याङ्क अनुसार ८० प्रतिशत ज्येष्ठ नागरिकहरू छोराबुहारी वा छोरीसँग बस्दै आएका छन् । तर, परिवारमा सदस्यहरू हुँदैमा उचित स्याहार भएको छ भन्न सकिने अवस्था देखिँदैन । करिब ८ प्रतिशत ज्येष्ठ नागरिकहरू काठमाडौँमा एक्लै वा ‘पेड केयरटेकर’ र नर्सको भरमा छन् ।
डिमेन्सिया, अल्जाइमर्स जस्ता बिर्सने रोगबाट पीडित १३ प्रतिशत र डिप्रेसनको लक्षण देखिएका १५ प्रतिशत ज्येष्ठ नागरिकहरूका लागि पारिवारिक प्रेमसँगै मनोवैज्ञानिक परामर्शको ठूलो अभाव देखिएको छ । कतिपय अवस्थामा आर्थिक अभावका कारण बिरामीले नियमित औषधि समेत छाड्नु परेको देखिन्छ ।
यो सर्वेक्षणले केवल तथ्याङ्क मात्र दिएको छैन । राज्य र समाजलाई ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवाका लागि एउटा गम्भीर चेतावनी समेत दिएको छ ।
सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिएको थियो । कार्यक्रमका फोकल पर्सन श्रेष्ठका अनुसार उनीहरुले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तन, गएको १५ दिनभित्र मन तथा सोचमा आएको परिवर्तन, खानामा रुचि, आफू बस्ने, हिँड्ने तथा अन्य सुरक्षा सम्बन्धी अवस्था, लडेको भए एक वर्षमा कति पटक लड्नु भएको छ ? कसरी लडेको र यसरी लड्दा भएको चोटपटकका बारेमा विवरण संकलन गरिएको थियो । यस क्रममा लड्नबाट बच्ने उपाय सिकाउने सिकाइएको थियो ।
उनीहरु आफैँ हिँड्न सक्नुहुन्छ कि हुन्न ? सिँढी चढ्न सक्नुहुन्छ कि हुन्न ? हिँड्दा सहायता चाहिन्छ कि चाहिँदैन ? आफैँ लुगा लगाउन, नुहाउन सक्नु हुन्छ कि हुन्न ? दिशा पिसाब नियन्त्रण गर्न सक्नुहुन्छ कि हुन्न ? जस्ता अवस्था हेरेर शक्ति परीक्षण गरिएको थियो ।
जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात् सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । साथमा परिवारका सदस्य त छन् । तर, आफूजस्तै अशक्त छन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण गरिएको हो ।
सर्वेक्षणमा जाँदा स्वास्थ्यकर्मीहरुले ज्येष्ठ नागरिकको रक्तचाप, ग्लुकोज, ज्वरो, पल्स, श्वाशप्रश्वाश, रगतमा अक्सिजनको मात्रा, पिसावमा एल्बुमिन र सुगरलगायत जाँच गरेका थिए । विगतमा गरिएका उपचार, प्रयोग गर्दै गरेका औषधि, प्रयोग गरेर छोडेका औषधिका बारेमा विवरण संकलन गरिएको थियो । खानापान, व्यायाम र अन्य दैनिक क्रियाकलापका बारेमा सोधखोज गरिएको थियो ।
ज्येष्ठ नागरिकको घरमा पुगेका बेला आधारभूत उपचार गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेज, क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट दिइएको थियो । यस्तै, पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि पनि स्वास्थ्यकर्मीको साथमा पठाइएको थियो ।
सर्वेक्षणले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थाको चित्र मात्र देखाएको छैन । केही काम तत्काल गर्नु पर्ने आवश्यकता पनि देखाएको छ ।
त्यो आवश्यकता भनेको वडा स्तरमा भएका सहरी स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा ‘ज्येष्ठ नागरिक नर्सिङ डेस्क’ स्थापना गर्नुपर्ने, ‘मोबाइल हेल्थ युनिट’ मार्फत घरदैलोमा स्वास्थ्य जाँचको सेवा लैजानु पर्ने, निरक्षर ज्येष्ठ नागरिकहरूका लागि औषधिहरुलाई रंग चिन्ह (कलर–कोडेड)का आधारमा चिनिने गरी व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउनु पर्ने देखिन्छ ।

















