काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेशलाई भारत र चीनसँग जोड्न दार्चुलाको तिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने सरकारको तयारी रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक सम्मान कार्यक्रममा गृहमन्त्री लेखकले महाकाली करिडोर, सेती लोकमार्गलगायत महत्त्वपूर्ण परियोजना अगाडि बढाएर छिमेकी देश भारत र चीनसँग जोड्न लागिएको बताए ।
उनले भने, ‘तिंकर नाकामा अध्यागमन कार्यालय स्थापना गरी तेस्रो मुलुकका नागरिकलाई कैलाश मानसरोवर जाने बाटो बनाउने योजना अगाडि बढाएका छौं । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्छौं । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्छ’ ।
मुलुकका प्रमुख दुई राजनीतिक दल मिलेर बनेको वर्तमान सरकारले देशमा दिगो शान्ति, सुशासन र विकासमा ध्यान दिई नागरिकमा देखिएको निराशा कम गर्न सफल हुने दाबी गरेका छन् ।
शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको गृहमन्त्री लेखकले स्पष्ट पारेका छन् ।