skip this News Page Tips Ad Road Block

नेपालको विद्युत निर्यात आँकडा एक हजार नाघ्यो

काठमाडौं । नेपालले १० वर्षमा भारतलाई १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिएर सम्झौता गरेको पहिलो वर्ष नेपालले लिएको लक्ष्य १ हजार मेगावाट नाघेको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएसँगै एक हजार मेगावाटभन्दा बढी निर्यात गर्ने सुनिश्चितता भएको हो ।

नेपालका लागि भारतीय दूतावासले नेपालबाट थप विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त भएको जानकारी दिएको छ । नेपालले हालसम्म १६ जलविद्युत् आयोजनाको ६९० मेगावाट निर्यातको स्वीकृति पाएकामा पछिल्लो स्वीकृतिसँगै २८ वटा आयोजनाबाट ९४१ मेगावाट निर्यात पुगेको छ । विद्यत् चुहावटसमेत व्यवस्थापन गर्ने गरी १० प्रतिशतसम्म थप निर्यात गर्न सकिने प्रावधान रहेकाले निर्यातको अंक एक हजार मेगावाट नाघ्ने भएको हो ।

प्राधिकरणले अझै थप दुई सय मेगावाट निर्यात गर्न सक्नेछ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले दिएको स्वीकृति अनुसार नेपाल विद्युत प्राधिकरणले अब हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम निर्यात गर्न स्वीकृति पाएको छ । मध्यकालीन सम्झौता अनुसार हरियाणामा १०९ मेगावाट विद्युत् निर्यात भइरहेकामा १२५.८९ मेगावाट थप गरिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो स्वीकृति प्राप्त भएसँगै निर्यात तुरुन्तै सुरु गर्ने जानकारी दिएका छन् । थप २०० मेगावाट विद्युत निर्यात स्वीकृतिको प्रक्रियामा रहेको जानकारी उनले दिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा २५ अर्ब रुपैयाँको विद्युत निर्यात गर्ने लक्ष्य राखिएको घिसिङले बताएका छन् ।

Health Tips Ad Road Block