काठमाडौं । अटोमोबाइल्स क्षेत्रको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ को तयारी पूरा भएको छ । नाडा अटोमोबाईल्स एसोसिएसन अफ नेपालले मंगलबार पत्रकार सम्मेलन गरी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको नाडा अटो शोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
नाडाले विगतको भन्दा यसपालीको अटो शो भव्य हुने दाबी गरेको छ । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आटो सोले सहयोग गर्ने नाडाका अध्यक्ष करण चौधरीले बताए । अध्यक्ष चौधरीले अटोमोबाइल्स क्षेत्र आजको आवश्यकता रहेको भन्दै विकास र समृद्धिको क्षेत्रमा यस क्षेत्रले ठूलो सहयोग पुर्याउने बताए ।
आर्थिक शिथिलताका कारण नेपालको अटोमोबाइल्स क्षेत्रलाई प्रभावित गरेको हालको अवस्थामा नाडा अटो शो २०२४ ले यस उद्योगलाई पुनर्जीवित गर्न भूमिका खेल्ने अपेक्षा गरिएको अटो शोका संयोजक अनुप बरालले बताए । यस वर्षको प्रदर्शनीले आर्थिक गतिविधिलाई बढावा दिने, राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने, अटोमोबाइल्स व्यवसायमा संलग्नहरुको मनोबललाई उचाल्ने विश्वास गरिएको संयोजक बरालले बताए ।
टाटा डट इभी मुख्य प्रायोजक रहको नाडा अटो शोको सह–प्रायोजकहरु शिखर इन्स्योरेन्स र सर्भो लुब्रिकेन्स रहेका छन् । उक्त शोमा प्रवेशका लागि अनलाइनबाट नै टिकट काट्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । शोको टिकेटिङ पार्टनर खल्ती वालेट रहेको छ । अटो शोमा अटोमोबाइल क्षेत्रको नवीनतम प्रविधिहरूको व्यापक प्रदर्शन गरिने नाडाको भनाइ रहेको छ ।
अटो शोमा ५५ वटा ब्राण्डका सवारीसाधनको सहभागीता रहने नाडाले जनाएको छ । जसमा २४ वटा चारपांग्रे ब्राण्ड, १९ वटा दुईपांग्रे र १२ वटा हल्का व्यवसायिक सवारीसाधनको सहभागीता हुने भएको छ । यसैगरी १३ वटा लुब्रिकेन्ट ब्राण्ड, ५ ब्राण्डका ब्याट्री र टायर्स, १३ वटा हेल्मेट बिक्रेता कम्पनी, ५ वाणिज्य बैंक, एक विकास बैंक र एक इन्स्योरेन्स कम्पनीको सहभागिता रहनेछ । प्रदर्शनीमा १३० वटा स्टलहरु रहनेछन् ।
अटो शो २०२४ मा विद्युतीय सवारीसाधन (ईभी) को वर्चस्व रहने संयोजक बरालले जानकारी दिए । शोमा ७० प्रतिशत सहभागीता ईभीका साधनहरूको सहभागिता रहने बरालले बताए । यसैगरी शोका लागि २६ अगस्टभित्रै टिकट बुकिङ गर्नेले २० प्रतिशत क्यास ब्याक पाउने नाडाले जनाएको छ ।
६ दिनसम्म चल्ने नाडा अटो शो २०२४ मा ७५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने नाडाको अनुमान छ । ती मध्ये एक जनाले जुम स्कूटर जित्ने अवसर पाउने र यसलाई सीजी मोटर्सले प्रायोजन गरेको छ ।
मुख्य गरी सुस्ताएको अर्थतन्त्र चलायमान गराउन अटो शोले महत्वपूर्ण सहयोग गर्ने नाडाको दाबी रहेको छ ।