काठमाडौं । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माण कार्य भइरहेको १४. ५ मेगावाट क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराति आएको बाढीले ठूलो क्षति गरेको छ । बाढीका कारण निर्माण कार्यमा खटिएका मजदुरहरु श्याम चौधरी र रमेश चौधरी बेपत्ता भएको र अर्का राम कुमार चौधरी भने करिब १ किलोमिटर तल घाइते अवस्था भेटिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका उपमहासचिव प्रकाश दुलालले जानकारी दिए ।
बाढीका कारण १ जना स्थानीय महिला पनि बेपत्ता भएको उनले जानकारी दिए । बाढीले आयोजनाको निर्माण कार्यमा खटिएको लेवर क्याम्प, क्रसर जडान गरिएको करिब ५ सय मिटर पाईप समेत बगाएको छ ।
त्यसैगरी भोजपुरमा निर्माण कार्य भइरहेको ४.३ मेगावाट क्षमताको फेदिखोला जलविद्युत् आयोजनामा पनि गए रातिको बाढीले क्षति पुर्याएको छ ।