काठमाडौं । डेंगु, हैंजा महामारी र विपदजन्य जोखिम व्यवस्थापनका लागि परामर्श गर्न सकिनेगरी काठमाडौं महानगरपालिकाले २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
विपद् व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट प्रदान हुने यो सेवा अन्तर्गत वर्षाबाट उत्पन्न हुनसक्ने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । यसैगरी स्वास्थ्य विभागबाट डेंगु, हैंजासहितका महामारीका रुपमा फैलिने रोगको उपचारका लागि परामर्श, सेवा शिफारिस र उपचार समन्वय प्रदान हुने महानगरले जनाएको छ । यसका लागि पहिलो सम्पर्क स्थापित गर्न हटलाइन टेलिफोन २४ घण्टा खुला गरिएको महानगरको भनाइ छ ।
यसअघि कार्यालय समयमा मात्र हटलाइन खुला हुने गरेको थियो ।
कोही कसैलाई समस्या परेमा हटलाइन निःशुल्क नम्बरहरु ११८० र १६६००१०५५११ मा फोन गर्न सकिनेछ । त्यस्तै ९८५१३५६५०९ मा फोन गर्दा सिधै महानगर प्रहरी बलसँग सम्पर्क हुनेछ ।
कार्यालय समय पछाडि अर्थात् साँझ ६ बजे पछाडि भने ११८० मा डायल गरेर ९ थिच्नुपर्नेछ । यो फोन स्वास्थ्यकर्मीले उठाउनेछन् ।
एकै पटक उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, थकित महसुस हुने जस्ता शारीरिक समस्या देखिए डेंगु हुन सक्ने र तारन्तार पातलो दिशा भइ रहेमा हैंजा हुन सक्नेछ । यी दुवै समस्याको प्राथमिक उपचार र स्वास्थ्य सेवाबाट प्रदान गरिने उपचारका विषयमा हटलाइनबाट परामर्श दिइने महानगरले जनाएको छ ।