काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि जारी गरिएको मौद्रिक नीतिले विगत करिब तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको देखिएको नेपाल उद्योग परिसंघ (सिएनआई) को धारणा छ । कठोर नीति अवलम्बन गर्दै आएको नेपाल राष्ट्र बैंक पछिल्लो पटक केही लचक भएको भएपनि उत्पादनशील क्षेत्रले भने प्राथमिकता नपाएको सीएनआईले जनाएको छ ।
राष्ट्र बैंकले समग्र मागलाई संकुचित पार्नेगरी लिएको यसअघिका नीतिमा सुधार गरी शिथिल अर्थतन्त्रलाई उकास्न खोजेको देखिएको ढिलै भएपनि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने प्रयासमा केन्द्रिय बैंक रहनुलाई परिसंघले सकारात्मक रुपमा लिएको जनाएको छ ।
‘नीतिगत दर घटाइनु सकारात्मक छ । यसले उत्पादन लागत घटाउन, प्रतिस्पर्धी क्षमता बढाउन सहयोग गर्छ । तर, बैंक दरमा प्रतिबिम्वित हुनेगरी केन्द्रिय बैंकले नीतिगत दरलाई प्रभावकारी बनाउनुपर्छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत कायम गरिनु स्वागतयोग्य छ । तर बैंक तथा वित्तीय संस्थाहरु ‘टिएर वान क्यापिटल’ को दबाबमा हुँदा लक्ष्य प्राप्त गर्न सहज हुने नीति केन्द्रिय बैंकले लिनुपर्ने आवश्यकता देखिन्छ । ‘टिएर वान क्यापिटल’ सहज बनाउन अहिलेको अवस्थामा काउन्टर साइक्लिकल क्यापिटल बफर (सीसीबी) स्थगन गर्न अत्यावश्यक रहेकोमा मौद्रिक नीतिले यसलाई सम्बोधन गरेन । राष्ट्र बैंकले यसमा पुनर्विचार नगरे निजी क्षेत्रमा १२.५ प्रतिशतको कर्जा विस्तारको लक्ष्य हासिल हुन सम्भव देखिदैन ।’ भन्दै हाल लागू ०.५ प्रतिशत सीसीबी अहिलेको अवस्थामा अनुपयुक्त रहेकाले स्थगन गर्नुपर्ने सुझाव परिसंघले दिएको थियो ।
मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाउन एवम् कर्जाको ब्याजदरमा प्रतिस्पर्धा कायम गर्न विद्यमान आधारदरसम्बन्धी व्यवस्था सम्बन्धमा अध्ययन गर्ने प्रतिबद्धताको सिएनआईले स्वागत गरेको छ ।
विज्ञप्तिमार्फत सिएनआइले लेखेको छ, ‘समग्र मागमा आएको कमीका कारण उत्पादनशील क्षेत्र, निर्माण क्षेत्र बढी प्रभावित भएका छन् । निर्माण क्षेत्रमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाका लागि दिइएको व्यवस्था सकारात्मक छ । मौद्रिक नीतिले निर्माण क्षेत्रका लागि लिएको नीतिले यस क्षेत्रलाई गतिशिल बनाई अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने परिसंघको विश्वास छ । तर, आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको तुलनामा २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादन क्षेत्र २ प्रतिशतले ऋणात्मक छ । यसरी समस्यामा रहेको उत्पादशील क्षेत्रलाई प्रोत्साहन नगर्ने हो भने थप शिथिलता आउन सक्नेतर्फ ध्यान दिन परिसंघ अनुरोध गर्दछ ।’
असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशतमा घटाउनु सकारात्मक भएपनि यो पर्याप्त नरहेको सीएनआईको बुझाई छ । कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १ प्रतिशत भन्दा बढी नगर्ने दिशातर्फ केन्द्रिय बैंक अग्रसर हुने विश्वास परिसंघले लिएको छ ।
विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियो (आरआरपी) को सीमा २ करोडबाट बढाएर २ करोड ५० लाख कायम गर्दा बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा (एनपीएल) र यसको प्रोभिजनिङ घटाउन सहयोग गर्ने भएकाले यसलाई परिसंघले त्यसलाई सकारात्मक रुपमा लिएको छ ।
चालुपूँजी कर्जा मार्गदर्शनमा उल्लेखित भेरियन्स एनालेसीस गरी कर्जा समायोजन गर्नुपर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागू हुने गरी समयावधि थप गरिनु सकारात्मक भएपनि बजार मागमा कायम चरम संकुचन तथा उद्योग व्यवसायले भोगिरहेको प्रतिकूल अवस्थालाई उच्च गम्भिरताका साथ लिदै चालुपूँजी कर्जाको प्रावधान तत्कालका लागि स्थगन गर्नुपर्ने सुझाव परिसंघको छ ।
चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्नेलगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिने विषयलाई सावधानीपूर्वक हेर्नुपर्ने सुझाव परिसंघले दिएको छ ।