काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको छ । महासंघका कार्यवाहक अध्यक्ष दियेश रत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थमन्त्रीकै कार्यकक्षमा भारत सरकारले बजेट मापर्फत भन्सार दर घटाएपछि नेपालमा परेको प्रभावका बिषयमा जानकारी गराउँदै नेपालमा पनि सोही अनुरुप हुनेगरी भन्सार दर समायोजन गर्न आग्रह गरेको हो ।
भारत सरकारले हालै आफ्नो बजेट मार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपालले भने चालु आर्थिक बर्षको बजेट मार्फत सुनको भन्सार दर वृद्धि गरी २० प्रतिशत पुर्याएको छ ।
नेपाल र भारतबीच खुला सीमा नाका भएकोले दुई देश बीचको भन्सार दरबीच असन्तुलन हुँदा अबैद्य कारोबारले प्रोत्साहन पाउन सक्ने भएकोले नेपालमा हाल कायम रहेको भन्सार दर घटाई भारतीय बजारसँग नजिक हुनेगरी कायम गर्नुपर्ने आवश्यकता महासंघले उठाएको हो ।
त्यसक्रममा अर्थमन्त्री बिष्णु पौडेलले ब्यवसायीले राखेका मागलाई आफूले गंभिर रुपमा लिएको बताउँदै आश्वयक अध्ययन पश्चात उचित निर्णय लिइने आश्वासन दिएका छन् । मन्त्री पौडेलसँगको भेटका क्रममा ब्यवसायीहरुले सुनको आयतमा कोटा वृद्धि गर्नुपर्ने, वर्षभरी हुने आयातलाई सिलिङ मानेर बजारको माग र आवश्यकताका आधारमा एउटा महिनाको सुन बर्ष भरीमा जुन सुकै महिना पनि ल्याउन पाउनुपर्ने, सुनचाँदीको गरगहना आयातमा भएको ब्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने, चाँदी आयातको सीमा वृद्धि गरिनुपर्ने लगायतमा माग राखेका थिए ।
ब्यवसायीले राखेमा अन्य मागमा कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लागू गरिएको सन्दर्भमा तयारी गहना आयातमा यो भन्दा बढी भन्सार लागू हुनु पर्नेमा सार्क राष्ट्रबाट आयात गर्दा ९ दशमलव ५ प्रतिशत मात्र कायम भएकोले यसले अत्याधिक सुनका गहना आयात हुनसक्ने भएकोले एकातिर राष्ट्रको लागि न्यून भन्सार शुल्कबाट बार्षिक अरबौं रुपैयाँको क्षति हुने सक्ने र अर्काेतिर देश भित्र सुनचाँदी व्यवसाय क्षेत्रले प्रत्यक्ष अप्रत्यक्ष उपलब्ध गराएको लाखौंको रोजगारी धरापमा पर्ने भएकोमा यसमा पुनरावलोकन गर्नुपर्ने उनीहरुको भनाइ छ ।
यस्तै कच्चा चाँदीमा १५ प्रतिशत भन्सार लागू हुँदा तयारी चाँदीका गहना आयात गर्दा सो भन्दा कम क्रमशः ६ प्रतिशत र १० प्रतिशत (सार्क राष्ट्र भित्र वा बाहिरी राष्ट्र बाट) कायम भएकोले यसले पनि राष्ट्रको लागि भन्सार आय र स्वदेशी कालीगढको रोजगारीमा बृहत रूपमा नकारात्मक प्रभाव पार्ने भएकोले सुनका गहना आयातमा न्यूनतम २५ प्रतिशत र चाँदीका गहना आयातमा न्यूनतम २० प्रतिशत भन्सार कायम गर्न आवश्यक देखिएको व्यवसायीको भनाइ छ । बहुमुल्य वस्तुहरुमा विलासी कर लगाउने ब्यवस्था अहिलेको अवस्थामा सान्दर्भिक नभएको ब्यवसायीहरुले बताएका छन् ।