काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को आगामी अध्यक्षका लागि नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले राजेन्द्रप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ । नेकपा एमाले निकटका व्यवसायीहरूको संगठनले आइतबार सापकोटालाई आगामी अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
सापकोटा संगठनका वरिष्ठ उपाध्यक्ष हुन् । सापकोटा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत हुन् । उनलाई नेपाली कांग्रेस र नेकपा (एमाले) निकटका व्यवसायीहरूको साथ रहने आशा गरिएको एक व्यवसायीले बताए । एमाले नेतृत्वको सरकार भएका बेला टानमा पनि एमालेनिकट व्यवसायीको नेतृत्व हुँदा व्यवसायिक मुद्दालाई सहज ढंगले सम्बोधन गर्न सकिने सम्भावना रहेको भन्दै सापकोटालाई अधिकाँश व्यवसायीको साथ रहने आँकलन गरिएको छ ।
सापकोटा आउटडोर हिमालयन ट्रेकका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन् ।
त्यस्तै व्यवसायीको बैठकले विभिन्न पार्टी अन्तगत संघ सस्थाको नेतृत्वसँग वार्ता एवं समन्वय गर्न संगठनका अध्यक्ष पूर्ण कुँवरको संयोजकत्वमा एक समितिसमेत गठन गरेको छ । समितिका सदस्यहरुमा यम बहादुर खड्का, जीवन थापा मगर, राम खड्का, विष्णु पाण्डे, वान्चु शेर्पा र सुवास भण्डारी रहेका छन् ।
अध्यक्षका उम्मेदवार सापकोटाले व्यवसायिक हकहितमा संधै लागिरहने भन्दै छिट्टै आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने बताएका छन् ।