काठमाडौं । आगामी तीन दिन देशैभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागले तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
विभागको बुलेटिनमा उल्लेख गरेअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा तथा केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
बुलेटिनमा उल्लेख गरिएअनुसार उच्च जोखिममा रहेको जिल्लामा गण्डकी प्रदेशअन्तर्गत म्याग्दी, बागलुुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासीपूर्व र मुस्ताङ रहेका छन् । लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुमपूर्वलाई उच्च जोखिममा राखिएको छ । कर्णाली प्रदेशअन्तर्गत जाजरकोट, दैलेख, रुकुमपश्चिम, कालीकोट, जुम्ला, हुम्ला र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा, डोटी, अछाम, दार्चुला, बझाङ, बैतडी र बाजुरा उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ ।
विगत केही दिनदेखि मनसुन न्यूनचापीय रेखाका कारण नेपालमा सक्रिय हुन थालेको र न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भू–भाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ । शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सचेत हुन भनिएको छ ।