काठमाडौं । सरकारले पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण साउन लागेपछि नदेखिएको दाबी गरेको छ । साउन १ गतेदेखि यता काठमाडौँलगायत देशभर नै बर्डफ्लुको सङ्क्रमण नदेखिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिएका छन् ।
पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण नदेखिएको विभागको भनाइ छ । विभागले सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम गरिरहेको र ती नमुनामा संक्रमण नदेखिएको महानिर्देशक दाहालको भनाइ छ । सबैतिर अन्तिम पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनलाई यसबारेको रिपोर्ट दिने दाहालले बताएका छन् ।
विभागका अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो । यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो । मोरङ्को उर्लाबारी–८ र सुन्दर हरैचा–४ मा पहिलोपटक बर्डफ्लु देखिएको हो । दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो । यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको सङ्क्रमण भएको थियो । हालसम्म ११ जिल्लामा सङ्क्रमण देखिएको छ । काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रुपमा नियन्त्रणमा आइसकेको विभागको भनाइ छ ।
काठमाडौँसहित नेपालभर कुल अवधिमा आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको तथ्याँक छ । विभागका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरी सकेको विभागले जनाएको छ ।
अब थप सङ्क्रमण हुने सम्भावना कम रहेको र कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको सरकारी भनाइ छ ।

















