skip this News Page Tips Ad Road Block

धान खेती गर्ने समयमा कलकत्तामा ३० हजार मेट्रिक टन युरिया बोकेको तेस्रो जहाज, किसानले पाउलान् त समयमै ?

काठमाडौं । नेपालका कृषकहरूलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यका साथ भारतको कलकत्ता बन्दरगाहमा ३०,००० मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।

मन्त्रालयका अनुसार हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेलको सञ्चालन केही प्रभावित भएको छ। त्यसका कारण अस्ती नेपाल आइपुग्नुपर्ने १,२५० मेट्रिक डिएपी मल बोकेको रेल अब बल्ल आज नेपाल आइपुग्ने जानकारी प्राप्त भएको कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको सचिवालयले जनाएको छ। साथै, २,५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि आज नेपाल आइपुग्ने अपेक्षा गरिएको सचिवालयको भनाइ छ।

यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन तथा भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत लोड भई प्रस्थान गरिसकेको मन्त्रालयले जनाएको छ।

बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकताअनुसार देशभर वितरण गरिने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति र वितरणलाई निरन्तरता दिइरहेको जनाएको छ।

मन्त्रालयको यो भनाइ आइरहँदा किसान धान खेती गर्ने समयमा मल नपाएर हैरानीमा छन् ।

Health Tips Ad Road Block