काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको सुरुवात भएको भन्दै उनले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिए ।
तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उनको निर्देशन छ।
“गएको आर्थिक वर्ष पूँजीगत खर्च निराशाजनक रह्यो। जम्मा ४९ प्रतिशत हाराहारी मात्रै। राजस्व पनि साढे १२ खर्ब हाराहारीभन्दा उठेन,” अर्थमन्त्री वाग्लेले सचिवहरूलाई भने, “चालु नयाँ बजेटमा यो नतिजा स्वीकार्य हुँदैन। कम्तिमा ८० प्रतिशत पूँजीगत खर्च हुनुपर्छ। मिसन १६ खर्बको राजस्व संकलन लक्ष्य पूरा हुनुपर्छ।”
बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी र व्यावहारिक कठिनाइ निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढाउन उहाँले सचिवहरूलाई आग्रह गरे ।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्ययोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उनले आग्रह गरे ।





















