कास्की । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरूको व्यवस्थापनका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । महानगरले प्रभावित परिवारहरूको उचित व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आधुनिक बसपार्क निर्माणको काम अघि बढाउने तयारी गरेको हो ।
नगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीहरूको व्यवस्थापन कानुनी प्रक्रिया र मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर गरिने बताए । उनले व्यवस्थित पुनर्स्थापनाको प्रक्रिया पूरा नगरी कसैलाई पनि विस्थापित नगरिने स्पष्ट पारे ।
उनले पृथ्वीचोकमा आधुनिक, सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको दीर्घकालीन योजना रहेको उल्लेख गर्दै यस परियोजनाले पोखराको यातायात व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै यात्रु सेवाको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे ।





















