काठमाडौँ । अबदेखि यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्णरूपमा अनलाइन प्रणालीबाट हुने जनाएको छ । विभागले एक सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फाराममा आफ्ना व्यक्तिगत विवरण स्वतः भर्न सक्ने व्यवस्था मिलाइएको जनाएको हो ।
सूचनाअनुसार लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिने सुविधा छ ।
विभागका अनुसार सुरुवाती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने छ । नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीका हकमा भने साबिककै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत रहेको विभागको भनाइ छ ।






















