काठमाडौं । इङ्ग्ल्याण्डलाई २–१ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना जारी विश्वकपको फाइनल प्रवेश गरेको छ । अमेरिकास्थित एटलान्टा स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज र लौटारो मार्टिनेजले गोल गरे ।
खेलमा सुरुवाती अग्रता इङ्ग्ल्याण्डले बनाएको थियो । ५५ औँ मिनेटमा एन्थोनी गोर्डनले गरेको गोलले अग्रता बनाएपनि अन्तिमसम्म थप गोल हुन सकेन । त्यसपछि आक्रामक बनेको अर्जेन्टिनाले ८५ औँ मिनेटमा एन्जो फर्नान्डेजले कप्तान लियोनल मेस्सीको पासमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट हेड गोल गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीकै पासमा उनले पनि गोल गरेका हुन् । कप्तान मेस्सी आफैं स्वयं भने गोल गर्नबाट चुके । दुवै गोलमा पास मिलाएका मेस्सी प्लेयर अफ दि म्याच भए । अर्जेन्टिनाले उपाधि आफ्नो पोल्टामा पार्नको लागि आइतबार राति स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
मेस्सी जारी विश्वकपमा सर्वाधिक आठ गोल र ४ एसिष्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन् । उनीलाई फ्रान्सका किलियन एम्बाप्पेले ८ गोल र ३ एसिष्टसहित पछ्याइरहेका छन् ।
तस्विरः फिफा




















