काठमाडौं। नारी टिभीको आयोजनामा तथा जीकेएमसी (GKMC) को व्यवस्थापनमा म उद्यमी सिजन ४ सम्पन्न भएको छ। कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् भने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्यमी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा महिला उद्यमशीलता, सामाजिक उद्यम तथा नेतृत्वमार्फत उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान प्रदान गरिएको थियो। सम्मानित हुनेहरूमा इन्दिरा राना मगर, बसु माया तामाङ, आकृति राजभण्डारी, सीता न्यौपाने, योजना थापा मगर, दीक्षा चापागाईं, नन्दा पसाई, जुली प्रधानाङ्ग, पूनम कार्की, रेखा शर्मा, श्वेता खड्का तथा श्वेता प्रधान रहेका थिए। उनीहरूलाई ‘इमर्जिङ इन्टरप्रेनरशिप अवार्ड’, ‘वुमन इन्टरप्रेनरशिप अवार्ड’ र ‘सोसल इन्टरप्रेनरशिप अवार्ड २०८३’ अन्तर्गत सम्मान गरिएको हो। सम्मानित व्यक्तित्वहरूले आफ्ना अनुभव आदानप्रदान गर्दै महिला सशक्तीकरण, नवप्रवर्तन र आत्मनिर्भर उद्यमशीलताको महत्वमाथि प्रकाश पारेका थिए।
कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा इभेन्ट म्यानेजर सन्ध्या थापाले गरेकी थिइन्। राष्ट्रिय गान, नेटवर्किङ सत्र, स्वागत मन्तव्य, विशेष सम्मान, सांस्कृतिक प्रस्तुति तथा बाल कलाकारहरूको आकर्षक नृत्य र सांगीतिक प्रस्तुति कार्यक्रमका प्रमुख आकर्षण बने।
यस अवसरमा ग्लोबल बैंक र सिद्धार्थ बैंकले बैंकिङ क्षेत्रबाट साना तथा मझौला उद्यम (SME) सम्बन्धी जानकारी, महिला उद्यमी बिपुला जोशीले डिआईवाई (DIY) प्रस्तुति दिएका थिए। साथै साझेदार संस्था, अतिथि र बाल कलाकारहरूलाई कृतज्ञतास्वरूप मायाको चिनो प्रदान गरिएको थियो।
प्रमुख अतिथि मन्त्री गीता चौधरीले सम्बोधन गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण महिला उद्यमीहरुलाई सम्मान व्यक्त गरिन्। यस्ता कार्यक्रमले नारीहरुलाई विशेष अवसर प्रधान गर्ने अफ्नो धारणा राखिन् भने सानो बेलाबाट आफूले हेर्दै र ज्ञान लिँदै आएका अग्रज व्यक्तित्वहरु आफू अघि देख्दा निकै खुसी लागेको बताइन्। महिला उद्यमीहरुलाई आफ्नो मन्त्रालयले सहजताको बाटो प्रदान गर्ने उद्देश्यले लिएको उनले जानकारी गराइन्। सम्पूर्ण नारीहरूलाई अघि बढ्न आग्रह गर्दै नारी टेलिभिजन प्रति हार्दिक आभार ब्यक्त गरिन् । नारी टिभीकी संस्थापक निकिता पौडेल लामिछानेले तीजमा पनि महिलाको क्षमता, नेतृत्व र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।






















