skip this News Page Tips Ad Road Block

ऊर्जामन्त्रीद्धारा फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्या समाधानको खोजी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा पटक–पटक हुने विद्युत् अवरोध, न्यून भोल्टेज तथा मिटर अभावका गुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दुई दिनसम्म त्यस क्षेत्रमा बसेर सरोकारवालाहरुसँग समस्याको पहिचान र समाधानका उपायबारे छलफल गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रमुख, वितरण केन्द्रका अधिकारी, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीयवासीसँग भएको छलफलमा पश्चिम नेपालको वितरण प्रणाली जीर्ण बन्दै गएको, चार दशकअघि निर्माण गरिएका संरचनाले वर्तमान विद्युत माग धान्न नसकेको तथा फिडर, ट्रान्सफर्मर र अन्य वितरण उपकरणको अभावका कारण आपूर्ति प्रभावित भइरहेको निष्कर्ष निकालिएको छ ।

छलफलमा नेपालगञ्ज क्षेत्र पश्चिमबाट आउने र पूर्वतर्फ जाने विद्युत प्रसारण प्रणालीको अन्तिम बिन्दुमा रहेकाले प्राविधिक दबाब बढी रहेको, पुराना उपकरणको गुणस्तरसमेत कमजोर देखिएको र वितरण सञ्जालको व्यापक स्तरोन्नति अपरिहार्य रहेको देखिएको छ ।

मन्त्री श्रेष्ठको पहलपछि कर्णाली प्रदेशमा देखिएको विद्युत् मिटर अभाव तत्काल समाधान हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार माग गरिएका पाँच हजार मिटरमध्ये दुई हजार मिटर आपूर्ति भई जडान प्रक्रिया सुरु भइसकेको छ भने बाँकी तीन हजार मिटर सात दिनभित्र उपलब्ध हुने भएको छ ।

त्यसैगरी सुर्खेतमा लामो समयदेखि देखिएको न्यून भोल्टेजको समस्या समाधानका लागि वितरण प्रणाली स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गरी आगामी केही महिनाभित्र काम सुरु गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ । नेपालगञ्ज क्षेत्रमा भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न आवश्यक बजेट, स्पष्ट कार्ययोजना र पूर्वाधार सुदृढीकरणका कार्यक्रम तत्काल अघि बढाइने भएको छ ,

त्यसक्रममा वितरण प्रणाली लामो समयदेखि स्तरोन्नति हुन नसक्दा बढ्दो विद्युत् भार धान्न कठिन भएको जानकारी दिइएको थियो । सातौँ विद्युतीकरण आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा पर्याप्त सुधार हुन नसकेको, विद्युत माग वार्षिक करिब १५ प्रतिशतले बढिरहेको तथा कोहलपुर राष्ट्रिय प्रसारण लाइन र टनकपुर आपूर्तिको अन्तिम बिन्दुमा रहेको सञ्जालमा बढ्दो चापका कारण सेवा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, न्यू नेपालगञ्ज सबस्टेशन निर्माण सम्पन्न हुन ढिलाइ, फिडर ओभरलोड, ट्रिपिङ, न्यून भोल्टेज, पुराना लाइन तथा अपर्याप्त ट्रान्सफर्मरको कारण विद्युत् आपूर्तिमा समस्या देखिएको निष्कर्षसमेत निकालिएको छ ।
मन्त्री श्रेष्ठले निर्माणाधीन न्यू नेपालगञ्ज सबस्टेशन यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरिने, थप क्षमताका ट्रान्सफर्मर जडान, वितरण सञ्जाल विस्तार, पुराना लाइन र कन्डक्टर स्तरोन्नति, नयाँ फिडर निर्माण तथा प्रभावकारी लोड व्यवस्थापनलाई उच्च प्राथमिकताका साथ तत्काल गर्न सकिने, मध्यकाल र दीर्घकालको योजना निर्माण गरी कार्यान्वयन गरिने बताए ।

उनले फिडर ओभरलोड, ट्रिपिङ र न्यून भोल्टेजलगायत प्राविधिक समस्याको विस्तृत अध्ययन गरी तत्काल कार्यान्वयनमा जाने स्पष्ट पार्दै अत्यधिक गर्मीका बेला नागरिक, उद्योग व्यवसाय र कृषि क्षेत्रमा परेको असरप्रति सरकार गम्भीर रहेको समेत उल्लेख गरे । ‘पश्चिम नेपालका नागरिकले भरपर्दो, सुरक्षित र गुणस्तरीय विद्युत् सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता हो । मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण समन्वित रूपमा काम गर्दै यी समस्या स्थायी रूपमा समाधान गर्नेछौं,’ मन्त्री श्रेष्ठले भने ।

Health Tips Ad Road Block