skip this News Page Tips Ad Road Block

ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीको प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई कार्यालयमा स्वागत गर्दै पदबहाली गराएका हुन् ।

पदभार ग्रहणपछि संक्षिप्त कुरा गर्दै अध्यक्ष डाँगीले अधिवेशनको समयमा साथीहरु फरक कित्तामा देखिए पनि साधारणसभाबाट सर्वसम्मत नेतृत्व चयन भएपछि अहिले समग्र ऊर्जा क्षेत्र एक ढिक्का भएर अघि बढेको विश्वास व्यक्त गरे ।

‘चुनावको बेला जे भयो, सकियो । अब हामी एक ढिक्का भएर काम गर्नेछौ । सबै जना एक ठाउँमा हुनु अवसर र चुनौती दुवै हो । कार्यसमितिमा आउनुभएका सबै साथीहरुलाई पूर्ण अधिकार सहित विभिन्न जिम्मेवारी दिएर कार्यविभाजन गरेर काम गर्नेछौं ।’ अध्यक्ष डाँगीले भने ।

यस अघिका तीनवटा कार्यसमितिमा बसेर काम गरिसकेका डाँगी चौथो कार्यकालमा आफैं अध्यक्ष बनेका हुन् ।

इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले इप्पानमा आवद्ध भइसकेपछि जुनसुकै पदमा बसेको भएपनि बोल्दा सधैं ध्यान दिनुपर्ने बताए । ‘कार्यसमितिको सदस्यले बोल्दा पनि अध्यक्षले जिम्मा लिनुपर्छ । त्यसैले बाहिर बोल्दा सल्लाह गरेर मात्रै बोल्नुपर्छ । कुनै कुराको पूर्णजानकारी छैन भने यसवारेमा पछि कुरा गरौंला भनेर भन्नसक्नुपर्छ ।’ कार्कीले भने, ‘बोलीमा सजगता अपनाउन सकिएन भने १५ खर्ब रुपैयाँ लगानी भएको सिंगो क्षेत्रले नै त्यसको मूल्य चुकाउनुपर्छ ।’

निवर्तमान अध्यक्ष कार्कीले हिजो आफ्नो कार्यसमितिले उठाएका मुद्दाहरु सबै जसो राजनीतिक दलका घोषणापत्रमा समेटिनु ठूलो सफलता भएको र अबको कार्यसमितिले त्यसलाई कार्यान्वयनका लागि झक्झक्याइरहनुपर्ने पनि बताए ।

इप्पानका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले हिजो र आज बस्ने आसन परिवर्तन भएपनि ऊर्जा क्षेत्रका मुद्दाहरुमा हिजोकै जसरी सँगै हुने बताए ।

‘निवर्तमान अध्यक्षज्यूको आफ्नै लिगेसी छ । यो कार्यसमितिले त्यो लिगेसी सतप्रतिसत बहन गर्न नसक्ला की भन्ने लागिरहेको छ । त्यसैले सिट परिवर्तन भए पनि ऊर्जा क्षेत्रको बृहत्तर हितका लागि हामी सधै संगै हुने विश्वास छ ।’ भ्लोनले भने ।

७०० ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको इप्पानको नयाँ नेतृत्व गत जेठ २९ गते चयन भएको थियो । यहि असार १ गते सपथग्रहण गरेको नयाँ कार्यसमितिले असार ३ गते बुधबारदेखि पदभार ग्रहण गरेको छ ।

Health Tips Ad Road Block