skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगार विभागमा एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ। विभागले सार्वजनिक गरेको २०८३ असार ०३ गतेको विवरण अनुसार, मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्।

विभागले ठगीमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन तीव्र रूपमा काम गरिरहेको छ। पछिल्लो विवरण अनुसार २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने ९ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। यसैगरी ९ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ भने बैङ्कलाई लेखिएको पत्र, अभियोग पत्र र राय पत्र लगायत ६८ वटा पत्रहरू चलानी गरिएको विभागले जनाएको छ ।

संस्था अनुगमन शाखाले म्यानपावर व्यवसायीहरूलाई ५ वटा पत्राचार गरेको छ भने १६ वटा राहदानी वितरण गरेको छ । त्यसैगरी राहत, उद्धार तथा समन्वय शाखाको सक्रियतामा ६ जनाको उद्धार गरिएको छ भने २ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। उक्त शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा समेत प्रदान गरेको छ।

गुनासो व्यवस्थापनमा उच्च प्राथमिकताका लागि सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ मार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको तत्काल समाधान गरिएको छ । यस्तै विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका छन् भने अन्य प्रक्रियामा रहेका छन्। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालय र ह्वाट्सएप मार्फत प्राप्त हुने राहत तथा उद्धारका गुनासोहरूलाई थप प्रभावकारी बनाउन विभागले नयाँ प्रक्रियाको सुझाव दिएको छ। त्यसैक्रममा आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउँदा राहत तथा उद्धार कार्यमा थप प्रभावकारी हुने विभागले जनाएको छ।

यो सक्रियताले वैदेशिक रोजगारीमा रहेका र जाने तयारीमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षणमा थप बल पुग्ने देखिएको छ।

Health Tips Ad Road Block