skip this News Page Tips Ad Road Block

“सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ?”

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आइतबार ललितपुरको हात्तीवनमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ?” विषयमा एक छलफल कार्यक्रम आयोजना गरियाे । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण हुन हासिल गरेको उल्लेखनीय सफलताको अध्ययन गर्दै नेपालले त्यसको सुशासन प्रणाली, भ्रष्टाचार नियन्त्रण संरचना तथा नवप्रवर्तन-प्रेरित विकास रणनीतिबाट लिनसक्ने पाठबारे छलफल गरिएकाे हाे ।

कार्यक्रममा सिंगापुरको सोसाइटी अफ फाइनान्सियल सर्भिस प्रोफेसनल्स का पूर्व अध्यक्ष लियोङ से हायनले सिंगापुरको विकास यात्रासम्बन्धी अनुभव तथा त्यसको आर्थिक सफलताका पछाडि रहेका संस्थागत आधारहरूबारे आफ्ना विचार प्रस्तुत गरे। उनले सुशासन, प्रतिस्पर्धात्मकता, व्यवसाय सञ्चालनको सहजता तथा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सिंगापुरले हासिल गरेका उच्च अन्तर्राष्ट्रिय स्थानहरूबारे चर्चा गर्दै देशको सफलता कुनै एकल नीतिगत हस्तक्षेपको परिणाम नभई प्रभावकारी संस्थाहरू, दीर्घकालीन योजना तथा निरन्तर अनुकूलन प्रक्रियामार्फत सम्भव भएको बताए।

सिंगापुरको भ्रष्टाचार नियन्त्रण प्रणालीबारे चर्चा गर्दै उनले भ्रष्टाचारलाई कडा कार्यान्वयन, स्वतन्त्र संस्थाहरू तथा कडा सजायको संयोजनमार्फत नियन्त्रण गरिने बताए। उनका अनुसार भ्रष्टाचारमा संलग्न व्यक्तिहरू पत्ता लाग्ने र कानुनी कारबाहीको दायरामा आउने सम्भावना उच्च भएकाले त्यसले प्रभावकारी निरोधात्मक भूमिका निर्वाह गरेको छ। उनले व्यक्तिको हैसियत वा पदको पर्वाह नगरी भ्रष्टाचारसम्बन्धी मुद्दाहरू अघि बढाइने भएकाले कानुनी शासनप्रति जनविश्वास कायम रहन सहयोग पुगेको उल्लेख गरे।

लियोङले सिंगापुरको विशिष्ट आर्थिक मोडेलबारे चर्चा गर्दै यसले वित्तीय अनुशासन र लक्षित सामाजिक सहयोगलाई सन्तुलित रूपमा समेटेको बताए। उनले सिंगापुरले सधैं सन्तुलित बजेट, विवेकपूर्ण सार्वजनिक खर्च तथा दीर्घकालीन वित्तीय दिगोपनलाई प्राथमिकता दिएको उल्लेख गरे। आवास, स्वास्थ्य सेवा तथा निवृत्तिभरणका लागि सावधानीपूर्वक डिजाइन गरिएका प्रणालीहरूमार्फत सरकारले अत्यावश्यक सेवाहरूमा व्यापक पहुँच सुनिश्चित गर्दै आर्थिक दक्षता कायम राख्न तथा भावी पुस्तामाथिको वित्तीय भार सीमित गर्न प्रयास गरेको बताए।

छलफलभरि सिंगापुरको नवप्रवर्तन-प्रेरित विकास दृष्टिकोण एक प्रमुख विषयका रूपमा रहेको थियो। लियोङले “सामान्य विवेकमा आधारित नवप्रवर्तन” (कमन-सेन्स इनोभेसन) को महत्वमाथि जोड दिँदै नवप्रवर्तनलाई केवल प्रविधि वा वैज्ञानिक अनुसन्धानमा सीमित गर्न नहुने तर्क प्रस्तुत गरे। बरु, समस्याको समाधान, सेवाको सुधार तथा कार्यदक्षता अभिवृद्धिका लागि निरन्तर नयाँ र प्रभावकारी उपाय खोज्ने सोचका रूपमा नवप्रवर्तनलाई बुझ्नुपर्ने उनले बताए। उनले प्रोत्साहन, सीप विकास, सार्वजनिक सहभागिता तथा नयाँ विचारहरूलाई समर्थनमार्फत सिंगापुरले समाजका सबै तहमा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरेको उल्लेख गरे।

उनले थप रूपमा सिंगापुरको सबैभन्दा ठूलो शक्तिमध्ये एक आफ्ना गल्तीहरूबाट सिक्ने र बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउने क्षमता रहेको बताए। धेरै मुलुकहरूले सिंगापुरका सफलताका पक्षहरूमा मात्र ध्यान केन्द्रित गर्ने गरेको उल्लेख गर्दै उनले देशको विकास यात्रालाई आकार दिन योगदान पुर्याएका चुनौतीहरू, असफलताहरू तथा नीतिगत पाठहरूको अध्ययनलाई पनि समान महत्व दिनुपर्ने तर्क प्रस्तुत गरे।

छलफलको निष्कर्षमा नेपालको आफ्नै सामाजिक, आर्थिक तथा राजनीतिक यथार्थलाई ध्यानमा राख्दै सिंगापुरको अनुभवका सान्दर्भिक पक्षहरूलाई कसरी आत्मसात् गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गरिएको थियो ।

Health Tips Ad Road Block