skip this News Page Tips Ad Road Block

परम्परा, पर्यटन र तन्नेरीहरुको उत्साहसहितको संगमः बौद्ध महोत्सव सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ महास्तूपको काखमा आएका युवा र तन्नेरीहरुमा शनिबार छुट्टै रौनक थियो । वडा कार्यालयले आयोजना गरेको बौद्ध महोत्सवमा आएका आगन्तुक, श्रद्धालुहरुले बालेको धुपको सुगन्धमा महोत्सवको सांगीतिक धुनले बौद्ध गुञ्जायमान भयो ।

‘हाम्रो संस्कृति, हाम्रो उत्सव’ भन्ने नारा राखेर विहानै देखि थालिएको कार्यक्रम केवल औपचारिक समारोह मात्र थिएन । सांस्कृतिक झाँकीसहित सहभागीहरुको लर्कोले महास्तूपको परिक्रमा गर्दा लाग्थ्यो, बौद्धको पुरानो सभ्यता फेरि ब्युँतिएको छ ।

महोत्सवको आकर्षण महास्तूप वरिपरि मात्र सीमित थिएन । महेन्द्र बौद्ध माध्यमिक विद्यालयको फूलबारी क्षेत्रमा पुग्दा नेपाली ग्रामीण जीवनमा प्रवेश गरेको जस्तै लाग्थ्यो । आधुनिकताको भिडमा गाउँबाटै हराउन थालेका ढिकी, जाँतो, हलोजुवा जस्ता सामग्रीहरू प्रदर्शनीमा देख्दा धेरै आगन्तुकहरू रोमाञ्चित देखिन्थे । स्थानीय महिला समूहका सिपले बुनेका अल्लोका कपडा र हस्तकलाका सामग्रीहरूले स्थानीय उद्यम र उद्यमशीलता प्रदर्शित गरेका थिए ।

स्थानीय उद्यमशीलता र आय महोत्सवको सबैभन्दा महत्वपूर्ण आयाम रह्यो । महोत्सव उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले भने, ‘बौद्धको आन्तरिक कला र जीवनशैलीलाई विश्व सामु परिचित गराउन महोत्सव उन्नत रह्यो ।’

वडास्तरीय महोत्सवले सांस्कृतिक र सामाजिक एकलाई बलियो बनाउँदै लगेका छन् । कार्यक्रममा सहभागी भएका महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले बौद्ध महोत्सवले परम्परागत पद्धतिको जीवन्तता अझै बचेको छ भन्ने सन्देश दिएको उल्लेख गरे ।

‘हामीले जे चाहेका थियौँ, त्यही अवस्थालाई नतिजामा रुपान्तरण गर्न सक्यौँ ।’ महोत्सवको उपलब्धिका विषयमा जानकारी दिँदै वडाध्यक्ष भुवन लामाले भने, ‘यस वर्षको सिकाइले हामीलाई कार्यक्रम विस्तारका लागि आधार दिएको छ । महोत्सव केवल स्थानीय पहिचान, आय र मनोरञ्जनमा मात्र सीमित रहेन । सामाजिक सद्भाव बढाउने ठाउँ समेत बनेको देखेपछि हामी यस्ता कार्यक्रमप्रति थप उत्साहित भएका छौँ ।’

वडाध्यक्ष लामाले भने, ‘गएको वर्ष हामीले प्राविधिक कारणले कार्यक्रम गर्न सकेनौँ । यस वर्षको महोत्सवले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्छ भन्ने महसुस गराएको छ ।’

महोत्सवले फरक–फरक भाषा र संस्कृति बोकेका समुदायलाई एउटै मालामा उनिदिएको छ । महोत्सवमा मेलम्ची घ्याङ गुठीका अध्यक्ष खड्गजित लामाले वडाको नेतृत्वबाट प्राप्त उपलब्धीको प्रशंसा गर्दै कार्यक्रमको निन्तरताको अपेक्षा गरे । समुदाय स्तरमा बाँडिएको जिम्मेवारीले महोत्सवलाई यति सफल बनाएको वडा सचिव कमल गौतमको प्रतिक्रिया छ ।

दिनभर परम्परागत झाँकी र खानाका परिकारमा झुमेका दर्शकहरूका लागि साँझ झन् विशेष बन्यो । जब स्टेजमा चर्चित सांगीतिक समूह ‘द एक्स ब्याण्ड’ उत्रियो, बौद्ध क्षेत्रको माहोल उत्सवको उत्कर्षमा पुग्यो । रातको ९ बजेसम्म दर्शकहरुले महोत्सवको साथ छोडेनन् ।

स्थानीय खानाका स्वाद, हस्तकलाको प्रदर्शनी, र लोक धुनहरूको संगम ‘बौद्ध महोत्सव’ ले विकास भनेको भवन र सडक मात्र होइन । आफ्नो मौलिक संस्कृति र परम्पराको जगेर्नामा सहभागी हुन पाउनु पनि हो भन्ने सन्देश दिएको छ ।

साँच्चै, बौद्ध महोत्सव, केवल उत्सवका रुपमा मात्र रहेन । यसले त सभ्यता र आधुनिकताको सम्बन्ध सेतु नै निर्माण गरिदियो ।

Health Tips Ad Road Block