काठमाडौं । बजेट घोषणा हुने केही दिन अघि केही भन्सार नाकाबाट विद्युतीय कारको भन्सार जाँचपास भएको सन्दर्भमा भएका टिकाटिप्पणी र त्यसमा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई जोडेर भएका अफवाह र चरित्र हत्याको कार्यप्रति खेद प्रकट गरिएकाे छ । रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले गरेको सिफारिसअनुसार जेठ २० गते थप अनुसन्धानका लागि तातोपानी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाई रहेको अर्थमन्त्रीका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले जनाएका छन् ।
अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्धयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली यतिबेला पनि फिल्डमै रहेको बताउँदै उनले प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको जानकारी दिएका छन् । यसको विस्तृत विवरण आउने आशा अर्थ मन्त्रालयले गरेको छ ।
तर, छानबिन चलिरहेकै बेला अर्थमन्त्री र मन्त्रालयका जिम्मेवार अधिकारीहरूको चरित्र हत्या गर्ने, समाजमा गलत भाष्य स्थापित गराइदिने, बजेटलाई विवादमा पारिदिने जस्ता उद्देश्य बोकेर भएका प्रचारबाजी तथा मिडिया ट्रायलप्रति गम्भिर ध्यानाकर्षण भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तो कार्यमा संलग्न केही माथि कानुनी उपचारको प्रक्रिया सुरु गरिसकिएको छ भने केही माथि कानुनी उपचार खोजिने चरणमा रहेको अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार ढुङ्गानाले बताएका छन् ।
अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा विचार बनाउँदै गर्दा एक पटक जिम्मेवार अधिकारीसँग सत्यतथ्य सोध्न, अर्थतन्त्र, बजेट, भन्सार जस्ता प्राविधिक विषय र यसको प्रक्रियामा सत्य जानकारी राखिदिन वा तथ्यले पुष्टी गरेर मात्रै समाचार सामग्री बनाई दिन मन्त्रालयले सबै पक्षसँग अनुरोध गरेको छ ।





















