skip this News Page Tips Ad Road Block

दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यकः मन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् । “दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नारासहित मनाइएको २६औँ विश्व दूध दिवस २०८३ को अवसरमा ललितपुर आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि सबै पक्षबीच सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताएकी हुन् ।

दुग्ध क्षेत्रले ग्रामीण अर्थतन्त्र, पोषण सुरक्षा, रोजगारी सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उनको भनाइ छ ।

हाल देशभरबाट दैनिक करिब ११ लाख ५० हजार लिटर दूध औपचारिक रूपमा संकलन भइरहेको छ, जसबाट दैनिक करिब साढे ७ करोड रुपैयाँ नगद प्रवाह भएको छ । साना किसान, महिला, युवा तथा सहकारीमार्फत संगठित समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुगेको तर्क उनले राखिन् ।

मन्त्री चौधरीले दूध, दही, घ्यू, मही, पनिरलगायत दुग्धजन्य पदार्थहरूले खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै व्यवसायिक पशुपालनमार्फत युवालाई आकर्षित गर्न सके दुग्ध क्षेत्र राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बन्न सक्ने बताइन् ।

दुग्ध क्षेत्रले उत्पादन लागत वृद्धि, कम उत्पादकत्व, भौगोलिक कठिनाइ, पशुरोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण, भुक्तानी ढिलाइ तथा गुणस्तर नियन्त्रणजस्ता चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै मन्त्री चौधरीले यी समस्याको समाधानका लागि सरकार सक्रिय रहेको बताइन् ।

कार्याक्रममा विभिन्न क्षेत्रका किसान, सहकारी, पत्रकारलाई सम्मान गरिएको छ ।

Health Tips Ad Road Block