काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम पारित गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो।
बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद्बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई समेत स्वीकृत गर्दै कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। प्रदेश सभाको बैठक जेष्ठ १८ गते सोमबार आज दिउँसो ३ बजे बस्ने तय भएको छ, सभामा प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसअघि शुक्रबार मुख्यमन्त्री शाहकै अध्यक्षतामा बसेको परिषद् बैठकले उक्त योजनाको मस्यौदा पारित गरेको थियो। प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको योजना पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, संघीय सरकारको सोह्रौँ योजना, संविधान, ऐन–नियम, आर्थिक सर्वेक्षण तथा सरोकारवालासँगको छलफलका आधारमा तयार गरिएको हो।
“समुन्नत, सुन्दर सुदूरपश्चिम” भन्ने दीर्घकालीन सोचसहित तयार गरिएको योजनाले प्रदेशवासीको जीवनस्तर सुधारलाई मुख्य लक्ष्य बनाएको छ।
उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, स्वास्थ्य तथा शिक्षा सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।
योजनाले कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रको विकासमार्फत आर्थिक वृद्धि हासिल गर्ने, साथै यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तार गर्ने रणनीति अघि सारेको छ। सामाजिक क्षेत्रमा समान पहुँच सुनिश्चित गर्नुका साथै जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई समेत प्राथमिकता दिइएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी तथा रोजगारमुखी उच्च शिक्षाको विकास, छात्रवृत्ति, डिजिटल शिक्षण प्रणाली, अनुसन्धान र सीप विकासमा जोड दिइने उल्लेख गरिएको छ। प्रदेश सरकारले यस योजनालाई दिगो विकास, सुशासन र समावेशी आर्थिक रूपान्तरणतर्फको मार्गदर्शक दस्तावेजका रूपमा लिएको छ।





















